राष्ट्रिय नृत्य निर्देशक कार्यशालामा दाेस्राे दिन के भयाे ?

Share:

बिग न्यूज

पाेखरा, २३ चैत। राष्ट्रिय नृत्य निर्देशक कार्यशालाकाे दाेस्राे दिन शनिबार ९ जना नृत्य निर्देशकहरुले आ-आफ्नाे कार्यपत्र प्रस्तुत गरेका छन्। छुट्टाछुट्टै विधाकाे नृत्यकाे बारेमा उनीहरुले सहभागीहरुमाझ कार्यपत्र प्रस्तुत गरेका थिए।

नेपाली लाेक सँस्कृतिमा आधारित नृत्यहरुकाे दस्तावेजिकरण गर्ने उद्देश्यसहित साँस्कृतिक संस्थान, काठमाण्डुसँगकाे सहकार्यमा अनुशिलन कला पाठशालाले याे कार्यशाला पाेखरामा गरेकाे हाे। कार्यशाला अन्तरगत शनिबार नगेन्द्र राई, प्रनिशा उदास, अनु रजक, कुलमान नेपाली, चिना नेपाली, पुर्णिमा शेरचन, सुनील सुवेदी, सुरेन्द्र देसार र तुलसी प्रभासले कार्यपत्र प्रस्तुत गरेका थिए। साकेला, साकेन्वा, लाकछाम, स्यादर पिदार, सेग्राे, धिमाल, जितिया नृत्यकाे बिषयमा नगेन्द्र राईले कार्यपत्र प्रस्तुत गरेका थिए।

त्यस्तै रुपन्देहीकी अनु रजकले थारु नृत्य र मुसहर समुदायकाे हरका नृत्यकाे विषयमा कार्यपत्र प्रस्तुत गरिन्। सुनसरीकी प्रनिशा उदासले झुमाैरा नृत्य, मुस्ताङकी पुर्णिमा शेरचनले ढम्केन पारसेव नृत्य, कैलालीका सुनील सुवेदीले झुम्रा नृत्य, ललितपुरका सुरेन्द्र देसारले चर्या नृत्य र स्याङ्जाका तुलसी प्रभासले बालान नृत्यसँगै नेवार समुदायकाे डण्डी नृत्यकाे बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रम सँयाेजक तथा अनुशीलन कला पाठशालाका संचालक गाेरे गुरुङले याे कार्यशालाबाट नेपालका लाेक नृत्यहरुकाे विषयमा थुप्रै जानकारी लिन सकिने बताए। सहभागीहरुले नेपाली लाेक नृत्य सम्बन्धि जानकारी पाउनुका साथै त्यस्ता नृत्यलाई लाेप हुन नदिन पनि कार्यशालाले भुमिका खेल्ने उनले बताए। शुक्रबार एक विशेष समाराेहका बीच गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले याे कार्यशालाकाे उद्घाटन गरेका हुन्। याे कार्यशाला चैत २६ गतेसम्म चल्नेछ।

कमेन्ट गर्नुहोस्
Share: