
पोखरा । पोखरामा जारी राष्ट्रिय नृत्य निर्देशक कार्यशाला अन्तरगत आईतबार तीनवटा फरक फरक सेसनमा कुल १५ वटा कार्यपत्र प्रस्तुत भएका छन्।
देशभरका विभिन्न विधाका नृत्य निर्देशकहरुको सहभागिता रहेको कार्यशालामा आईतबारको सेसन पृथक र फरक भएको आयोजकले बताएको छ।
पोखराको अनुशीलन कला पाठशालासँगको सहकार्यमा साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले यो कार्यशालाको आयोजना गरेको हो। आईतबार भएको पहिलो सेसन अन्तरगत झापाका लोकचन्द्र श्रेष्ठले सतार समुदायको नृत्यसम्बन्धि कार्यपत्र प्रस्तुत गरे।
कास्कीका पदमराज ढकालले लमजुङ भेगमा प्रचलित सोरठी नृत्यको कार्यपत्र प्रस्तुत गरे भने सुनसरी धरानका नगेन्द्र राईले साकेला, साकेन्वा, लाकछाम, स्यादर पिदार, सेग्रो, धिमाल, जितिया लगाएतका नृत्यहरुको विषयका कार्यपत्र प्रस्तुत गरेका थिए।
राईले दुई चरणमा यी नृत्यहरु सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए। पहिलो सेसनमा सप्तरीका सन्दीप मण्डलको कार्यपत्र अन्तिम बन्यो। उनले होली र सामचकेवा नृत्यको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
आईतबार भएको दास्रो सेसन अन्तरगत हर्क आले, गोरणबहादुर चौधरी, शुभचन्द्र सुवेदी, ओमप्रकाश बस्नेत, प्रितम लिम्बू र पर्वत राईले फरक फरक विधाका नृत्यहरुको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
त्यस्तै आईतबार नै भएको तेस्रो सेसनमा कल्याण रानामगर, विकास घले गुरुङ, तेजप्काश सिवाकोटी, प्रतिभा पुन मगर र गमबहादुर गुरुङले कार्यपत्र प्रस्तुत गरेको कार्यशालाको सचिवालय व्यवस्थापक सुदर्शन पुलामीले जानकारी दिए।
कार्यशाला निकै फलदायी भएको सहभागीहरुले बताएका छन्। यो कार्यशाला फरक समुदाय र परिवेशको नृत्यलाई जान्ने र बुझ्ने गतिलो माध्यम बनेको सहभागीहरुको अनुभव छ। त्यस्तै कार्यक्रम सँयोजक गोरे गुरुङले सहभागीहरुले कार्यपत्रका लागि निकै मेहेनत गरेको बताए।
नेपालको हरेक क्षेत्र विशेषका लोक नृत्यहरुलाई दस्तावेजिकरण गर्ने आफूहरुको उद्देश्यअनुरुप नै कार्यशाला अगाडि बढको उनले बताए। चैत २२ गतेदेखि शुरु भएको नृत्य कार्यशाला २६ गतेसम्म चल्नेछ।
