
पोखरा । पाल्पाली समाज पोखराको १७ औं वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ ।
सो अवसरमा समाजद्वारा प्रकाशित २०७६ सालको क्यालेन्डर विमोचन, शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रम गरिएको छ ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले समाजमा आबद्ध रहेर कर्मथलो पोखरालाई बनाएकोमा खुसी व्यक्त गर्दै समाजका विभिन्न गतिविधिले आपसी भाइचारा विकासमा मद्दत पुग्ने बताए ।
पोखरामा बसोबास गरिरहेकाहरु तथा पर्यटक गरी महानगरले ३५ लाख नागरिकलाई सेवा प्रदान गर्दैआएको जानकारी दिए ।
उनले पोखरामा क्रियाशील विभिन्न सम्पर्क समाजले पनि हाम्रो महानगर, राम्रो महानगर बनाउन अहम् भूमिका हुने बताए ।
गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठले पाल्पाली समाजलाई आफूलाई जहाँ गए पनि नभुल्ने बताए । प्रदेशबाट सरुवा भइ जान लागेका सचिव श्रेष्ठलाई सोही अवसरमा समाजले बिदाइ समेत गरेको छ ।
यस्तै, समाजको स्थापनाकालदेखि हालसम्म योगदान पु¥याएकोमा समाजले पूर्व अध्यक्ष एवं सल्लाहकार गरी ३ जना सम्मान गरेको छ ।
सम्मानित हुनेमा समाजका पूर्व अध्यक्ष, सल्लाहकार एवं पाल्पाली कल्याणकारी कोष संयोजक चिरञ्जीवी श्रेष्ठ, पूर्व अध्यक्ष एवं सल्लाहकार ताराप्रसाद पोखरेल, समाजका संस्थापक सचिव एवं सल्लाहकार लोकनाथ काफ्लेलाई मेयर जिसीले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरेका हुन् ।
