
काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ ।
शनिबार भएको खेलमा नेपाल युएईसँग डकवर्थ लेविस (डिएल) पद्दतिको आधारमा १ रनले पराजित भएको हो । नेपालले दिएको २४८ रनको लक्ष्यसहित युएईले जवाफी ब्याटिङ गरिरहदा पानी परेपछि खेल रोकिएको थियो ।
त्यसपछि निरन्तर परेको वर्षाले खेल हुने सम्भावना सकिदा खेलको निर्णय डिएलबाट गरिएको थियो । डिएलमा युएईले ३० ओभरमा जितका लागि १ सय २२ रनको नयाँ लक्ष्य पाएपछि नेपाल १ रनले पराजित भएको हो ।
वर्षाले खेल रोकिनु अघि युएईले ३० ओभरमा ३ विकेट गुमाएर १ सय २२ रन जोडेको थियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभरमा अलआउट हुँदै २ सय ४७ रन बनाएको थियो ।
पराजित भएसंगै छनोटको उपाधि जित्ने नेपालको लक्ष्यमा धक्का लागेको छ । नेपालले पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो । २ खेलमा २ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ ।
नेपाललाई हराएर लगातार दोस्रो जित निकालेको युएई ४ अंकसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानको कुवेतको ४ अंक नै छ ।
अब नेपालले तेस्रो खेलमा आयोजक मलेसियासँग सोमबार खेल्नेछ ।
