अन्नपूर्ण पदमार्गमा वन्यजन्तुको सङ्ख्यामा वृद्धि

Share:

गलेश्वर। विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्ग र राउण्ड धौलागिरि क्षेत्रमा समेटिएको म्याग्दीका जङ्गलमा पछिल्लो समय जङ्गली जनावर र पंक्षीहरुको सङ्ख्या वृद्धि भएको छ।

उत्तरी म्याग्दीका हिस्तान, दोबा, नारच्याङ, घोडेपानी र पश्चिमी म्याग्दीका गुर्जा, मुदी, मुना, ताकम, रुम, ओखरबोट लगायतका जङ्गलमा पछिल्लो समय वन्यजन्तुको सङ्ख्यामा वृद्धि भएको हो।

अनुकूल बासस्थान र आहाराको कमीका कारण यस क्षेत्रबाट बसाइ सरेर गएका पंक्षी र जङ्गली जनावर पनि अहिले यहाँका जङ्गलमा देखिन थालेका स्थानीयले बताएका छन्।

‘समुदायलाई वन हस्तान्तरण गरिएपछि जङ्गलको संरक्षण राम्रोसँग भएको छ’, अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका वडाध्यक्ष गमबहादुर फगामीले भने।

जङ्गलको संरक्षण भएसँगै जङ्गली जनावरको लागि चाहिने उचित बासस्थान र आहाराको कमी नहुँदा पंक्षी तथा वन्यजन्तुकाे संख्या बढेकाे हाे।

अन्नपूर्ण चक्रिय पदमार्ग वरपरका राम्चे, हिस्तान, घार, शिख, नारच्याङ, दाना, भूरुङ तातोपानी र दोवाका जङ्गलमा हाब्रे, भालु, बाघ, रातो हाब्रे, मृग, चिबे, कालिज, जुरेलो, तित्रो लगायतका जङ्गली जनावर र पंक्षी प्रशस्त मात्रामा देखिने गरेकाे छ ।

यस क्षेत्रका जङ्गलमा लोपोन्मुख अवस्थामा रहेका रातो हाब्रे (रेड पाण्डा) पनि धेरैकाे संख्यामा देखिएका छन्।

रेडपाण्डा लगायतका लोपोन्मुख अवस्थामा रहेका जङ्गली जनावर तथा पंक्षीको संरक्षणका लागि गाउँपालिकाले विशेष व्यवस्था गर्न लागेको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडाध्यक्ष चन्द्रप्रसाद फगामीले बताए।

त्यसैगरी पश्चिमी म्याग्दीका जङ्गलमा पनि लोपोन्मुख रेडपाण्डालगायतका जङ्गली जनावर देखिन थालेका मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए।

अध्यक्ष रोकाका अनुसार गाउँपालिकाको रुम, बिम र ओखरबोटका जङ्गलमा केही समययता पहिला कहिल्यै नदेखिएका जङ्गली जनावर र पंक्षी पनि देखिएका छन्।

उता जङ्गली जनावरको वृद्धि भएसँगै स्थानीयले सास्ती पनि खेप्नुपरेको अन्नपूर्ण-१, दोवाका मनप्रसाद गर्वुजाले गुनासाे पाेखे।

जङ्गली जनावरले खेतबारीमा लगाएका बालीनाली र घर गोठमा पालेका पशुपंक्षीलाई क्षति पुराउन थालेपछि स्थानीयले हैरानी व्यहोर्नुपरेको उनको भनाइ थियो।

कमेन्ट गर्नुहोस्
Share: