दश वर्ष बित्दा पनि बनेन महिला बन्दी गृह, १४ लाखको काम बालुवाको पानी

Share:

पर्वत। साबिकको धौलागिरि अञ्चलका चार जिल्ला पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई समेट्ने गरी निर्माण थालिएको एक मात्र महिला बन्दी गृह एक दशकदेखि अलपत्र परेको छ ।

दश वर्ष अगाडि ७२ लाख रुपैयाँको योजनामा बन्दी गृह निर्माणको काम शुरु गरिएको थियो । तत्कालीन अवस्थामा १४ लाख रुपैयाँ मात्र बजेट आएपछि सोही रकमले मात्र निर्माण थालिएको बन्दी गृह नै अलपत्र परेको हो ।

१४ लाखमा गृह निर्माणस्थल सम्याउने, जग राख्ने र दुईतर्फको भित्ता निर्माण गर्ने काम सकिएको छ । तर आवश्यक परेको बजेट नआउँदा नौ वर्ष अगाडि इँट्टाबाट निर्माण गरिएका भित्तासमेत पल्टने अवस्थामा पुगेका छन्।

बन्दी गृह निर्माण गर्न लागिएको ठाउँमा बुट्यान र घाँसले ढाकेको छ । २५ जना क्षमताको उक्त बन्दी गृह निर्माण कार्य पूरा गर्नको लागि पटक पटक सम्बन्धित निकायमा रकम माग गर्दा पनि निकासा नभएपछि तत्कालीन समयमा आएको रु १४ लाखको काम बालुवाको पानी बनेको छ ।

जिल्ला कारागार कार्यालयका निमित्त प्रमुख प्रकाश पौडेलले निर्माण कार्य पूरा गर्नका लागि हरेक वर्ष बजेटको माग गरिएको भए पनि कही कतैबाट बजेट विनियोजन नहुँदा योजना अलपत्र परेको बताए ।

विसं २०६६ मा निर्माण शुरु गरिएको बन्दीगृहको काम १० प्रतिशत मात्र सकिएको छ । एक वर्षभित्रमा निर्माण गरिसक्ने भनिएको बन्दी गृहको काम निर्माण शुरु गरेको नौ वर्ष हुँदा ९० प्रतिशत काम बाँकी रहेको छ ।

महिलाका लागि छुट्टै बन्दी गृह निर्माण गरिएको धौलागिरि क्षेत्रकै यो पहिलो हो ।

महिला बन्दी गृह निर्माण हुन नसकेपछि कारागारभित्रै विभाजन गरेर दुई भागमा महिला पुरुषलाई राखिएको छ । क्षमताभन्दा तेब्बरको सङ्ख्यामा कैदी बन्दी राख्नुपर्दा निकै समस्या परेको कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: