
तनहुँ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौलीमा माइक्रोबसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ब्यास नगरपालिका–१० परेवाडाँडाका २३ वर्षीय रमेश शर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पोखराबाट काठमाडौतर्फ जाँदै गरेको ग १ य ४८५ नम्बरको माइक्रोले भित्री सडकखण्डबाट राजमार्गतर्फ आउँदै गरेको ग १३ प ९१८१ नम्बरको स्कुटरलाई ब्यास नगरपालिका–४ शहीदगेट नजिक ठक्कर दिएको थियो ।
ठक्करबाट सख्त घाइते शर्माको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
माइक्रोसहित त्यसका चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।
यसअघि सोमबार पोखराबाट दमौली जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट ठक्कर दिँदा पोखराका सन्दिप कुँवरको मृत्यु भएको थियो।
