चुनावको मत गणना गर्ने २ सय ७२ कर्मचारीको मृत्यु

3415
0
Share:

जकार्ता। इण्डोनेशियामा चुनावको मतगणना गर्ने २ सय ७२ भन्दा धेरै कर्मचारीको मृत्यु भएको छ ।

गत अप्रिल १७ मा भएको आम निर्वाचनपछि मत गणना गर्न खटाइएका २ सय ७० भन्दा धेरै कर्मचारीको अधिक समय काम गरेका कारण मृत्यु भएको र अरु १ हजार ८ सयभन्दा धेरै कर्मचारी बिरामी परेको इण्डोनेशियाका अधिकारीले जनाएका छन् ।

१९ करोड ३० लाख भन्दा धेरै मतदाता रहेको इण्डोनेशियामा भएको पछिल्लो निर्वाचनमा ८० प्रतिशत भन्दा धेरै मतदाताले मतदान गरेका थिए ।

८ लाखभन्दा धेरै मतदान केन्द्रमा भएको मतदानको मतगणना हातैले गर्नुपर्ने भएकाले कर्मचारीलाई अधिक कामको बोझ बढेको बताइएको छ ।

अधिक काम गरेकापछि बिमारी परेका चुनावका कर्मचारीको सङ्ख्या धेरै रहेको र उनीहरुमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने अनुमान छ ।

यसअघि इण्डोनेशियामा राष्ट्रपतीय, प्रान्तीय तथा संसदीय निर्वाचन बेग्लाबेग्लै मितिमा हुने भएपनि पछिल्लो पटक खर्च कम गर्न भन्दै तीनै निर्वाचन एकैदिन आयोजना गरिएको थियो ।

अधिक कामको बोझका कारण कर्मचारीको मृत्यु भएपछि त्यहाँको निर्वाचन आयोगको व्यापक आलोचना शुरु भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: