संसदमा राष्ट्रपतिको सम्बोधन, ४२ पटक ‘मेरो सरकार’ उच्चारण, सामाजिक सञ्जालमा विरोध

1238
0
Share:

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारका नीति तथा कार्यक्रम पेश गरेकी छन् । शुक्रवार संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारका नीति तथा कार्यक्रम पेश गरेकी हुन् ।

सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले पटक–पटक ‘मेरो सरकार’ भनेकोमा सामाजिक सञ्जालमा चर्को विरोध भएको छ । राष्ट्रपति भण्डारीले सम्बोधनको क्रममा ४२ पल्ट ‘मेरो सरकार’ उच्चारण गरेकी छन् ।

पञ्चायती शैलीमा मेरो सरकार भनिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको हो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमा लेखेका छन्, ‘सम्माननीय @PM_Nepal मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि राष्ट्रपतिको सरकार ? कुनै बेला ‘श्री ५ को’ सरकार थियोे, राजाले ‘मेरो सरकार’ भनेर सम्बोधन गर्थे ! आज राष्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा व्यवस्था छ ?’

यस्तै काँग्रेसका सांसद गगन थापाले पनि राष्ट्रपतिको सम्बोधन प्रति आपत्ति जनाएका छन् । उनले भनेका छन्, ‘म त नेपाल सरकारको ( जनताको सरकार) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको, यहाँ त राष्ट्रपतिज्यूबाट महामहिमज्यू को निजी सरकारको कार्यक्रमको पो घोषणा भैरहेको छ । प्रधानमन्त्रीज्यू, नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला ?’

कमेन्ट गर्नुहोस्
Share: