सरकारले ‘गणतन्त्र दिवस–२०७६’ विशेष कार्यक्रमका साथ मनाउने

609
0
Share:

काठमाडौं । सरकारले ‘गणतन्त्र दिवस–२०७६’ विशेष कार्यक्रमका साथ मनाउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा सोमबार बसेको ‘गणतन्त्र दिवस मूल समारोह समिति’को बैठकले गणतन्त्र दिवस–२०७६ को कार्यक्रम तय गरी सार्वजनिक गरेको हो ।

गणतन्त्र दिवसलाई जनताको उत्सवको रुपमा मनाउने गरी सो दिवसको कार्यक्रम सार्वजनिक गरिएको प्रधानमन्त्री ओलीले बताए ।

उनले जनताको ठूलो त्याग, संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र जनताको प्रणाली भएकाले त्यसलाई जनस्तरमै मनाउने गरी तयारी गर्न पनि सम्बन्धित सबै निकायलाई सचेत समेत गराए ।

कार्यक्रम अनुसार गणतन्त्र दिवसको मुख्य दिन जेठ १५ गते काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरिनेछ ।

राष्ट्रपति विद्या भण्डारी प्रमुख अतिथि रहने सो कार्यक्रममा गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट ‘गणतन्त्र दिवस–२०७६’ लेखिएको अंकित व्यानर प्रर्दशन गर्दै पुष्प वृष्टि गर्ने कार्यक्रम रहेको पनि गृह सचिव प्रेमकुमार राईले जानकारी दिए ।

त्यसैगरी कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशष्त्र प्रहरी र स्काउटले मार्च पास गर्ने, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका तथा काठमाडौं उपत्यकाका अन्य नगरपालिकाहरुले पनि सांस्कृतिक झाँकीहरु प्रस्तुत गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

गणतन्त्र दिवसको सोही दिन साँझ दिपावली पनि गरिनेछ । गणतन्त्र दिवसको अघिल्लो दिन जेठ १४ गते सबै तहको सरकारले आफ्ना कार्यालयहरुमा राष्ट्रिय झण्डा र व्यानर सजाई नगरको सफाई र श्रृंगार गर्नुपर्नेछ ।

त्यसैगरी सोही अवसरमा आम नागरिकलाई घरघरमा सरसफाई र साँझ दिपावली गर्न अनुरोध गर्ने कार्यक्रम पनि तय गरिएको गृह सचिव राईले बताए ।

जेठ १६ गते सबै जिल्लाहरुमा वृक्षारोपण लगायतका कार्यक्रम आयोजना गरि गणतन्त्र दिवस मनाईने गणतन्त्र दिवस–२०७६ को कार्यक्रममा उल्लेख गरिएको छ ।

गृह सचिव राईले गणतन्त्र दिवसको अवसर पारेर विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासहरुमा गणतन्त्र दिवस विविध कार्यक्रमसहित जेठ १४, १५ र १६ गते तीन दिनसम्म भव्य रुपमा मनाउने र साँझ दिपावली गर्ने कार्यक्रम समेत रहेको बताए ।

कमेन्ट गर्नुहोस्
Share: