गण्डकी प्रदेशले पोखरामा आफ्नै घरमा बस्ने सांसदलाई पनि घरभाडा दिने

Share:

पोखरा । गण्डकी प्रदेश सरकारले पोखरामा घर हुने सांसदहरुलाई पनि घरभाडा बापतको सेवा सुविधा दिने निर्णय गरेको छ ।

प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले पोखरामा घर हुने सांसदहरुलाई पनि घरभाडा बापतको सेवा सुविधा दिने निर्णय गरेको हो ।

प्रदेशको मन्त्रिपरिषद्को बैठकले सांसदहरुको पारिश्रमिक तथा सेवाको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार सांसदहरुले प्रति महिना १५ हजार रुपैयाँ घरभाडा दिँदै आएको थियो ।

सरकारले २०७४ चैत ३० गते पारित गरेको ऐनको दफा ६ (२०) मा पोखरामा घर भएका सांसदहरुलाई सुविधा नदिने उल्लेख छ भने उपदफा २ मा मर्मत र सम्भार प्रदेश सरकारले गर्ने व्यवस्था गरिएको छ ।

सोही उपदफाको आधारमा राजधानीमा घर हुने सांसदहरुलाई सुविधा दिन लागिएको हो । हाल कास्कीमा प्रत्यक्ष र समानुपातिक गरी १३ जना प्रदेशसभा सदस्यहरु छन् ।

यसअघि पोखरामा घर हुने १३ जना सांसदहरुले यो सुविधा लिन नपाउने भएपनि मन्त्रिपरिषदले आइतबारको निर्णयानुसार आगामि दिनमा ऐनमा व्यवस्था भएकोभन्दा आधा रकम आवास सुविधाबापत पाउने भएका छन् ।

उनीहरुले मासिक सात हजार पाँच सय रुपैयाँ आवास सुविधा पाउने प्रदेश सरकारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: