
काठमाडौं । इंन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको उपाधि आज टुङ्गो लाग्दैछ ।
१२ औं संस्करणको आईपीएलको उपाधिका लागि आज साविक विजेता चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्स ७ बजेर ४५ मिनेटमा हैदरावादमा प्रतिस्पर्धा गर्दैछन् ।
अहिलेसम्म यी दुबै टिमले समान तीन–तीन पटक आईपीएलको उपाधि जितेका छन् ।
तुलनात्मक रुपमा जारी आईपीएलमा चेन्नाई भन्दा मुम्बई बलियो ठहरिएको छ । मुम्बई र चेन्नाईले जारी आईपीएलमा तीन खेलमा प्रतिस्पर्धा गरिसकेका छन् । तीनै खेलमा मुम्बईले चेन्नाईलाई पराजित गरेको छ ।
लिग चरणको पहिलो होम खेलमा मुम्बईले चेन्नाईलाई ३७ रनले पराजित गरेको थियो । अघिल्लो खेलमा पनि मुम्बईले चेन्नाईलाई ४६ रनले पराजित गरेको थियो । त्यस्तै, क्वालिफायरको पहिलो राउण्डमा मुम्बईले चेन्नाईलाई ६ विकेटले पराजित गरेको थियो ।
लिग चरण र प्लेअफको हार फाइनलमा तिर्ने लक्ष्यमा चेन्नाई रहेको छ । यता, मुम्बई भने फेरी चेन्नाईलाई पराजित गर्दै उपाधि उठाउने लक्ष्यमा छ ।
प्लेअफको पहिलो क्वालिफायरमा चेन्नाईलाई पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको थियो यता, चेन्नाई भने दोस्रो क्वालिफायरमा दिल्लीलाई पाखा लगाउँदै फाइनल पुगेको हो ।
