
काठमाडौं । अपराध महाशाखाले छोरा अपहरण गरेर गोली हानी मारिदिने धम्की दिदैं रकम असुल्न खोज्ने एक प्रेम जोडीलाई पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार पक्राउ परेका दुई जना प्रेमी-प्रेमिका हुन् ।
पक्राउ पर्नेमा कैलालीका २४ वर्षीय लोकेन्द्रबहादुर शाही र २० वर्षीया रुबी ठाकुर छन् । ठाकुरको योजनामा उनका प्रेमी शाहीले काठमाडौंको बुद्धनगरका औषधी व्यवसायी सीताराम कार्कीलाई धम्क्याएका थिए ।
५ लाख रुपैयाँ नदिए छोरालाई अपहरण गरेर गोली हानी हत्या गर्ने धम्की दिएको उजुरी परेको थियो। कार्कीले दिएको उजुरीको आधारमा अनुसन्धान गरेर दुवैलाई गौशालाबाट पक्राउ गरिएको हाे ।
अनुसन्धान अधिकारीका अनुसार ठाकुरको कार्कीसँग पहिल्यैदेखि चिनजान थियो । उनले रकम हात पार्न प्रेमीलाई प्रयोग गरेकी थिइन् ।प्रहरीले कार्कीलाई धम्क्याउन प्रयोग भएको मोबाइल र सीम कार्ड पनि बरामाद गरेको छ ।
