
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले २० वर्षपछि बिहीवार सुर्खेतका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ ।पक्राउ पर्ने अभियुक्त साविकको साटाखानी गाविस–७ र हालको लेकबेँसी नगरपालिका–९ साँझेचौर सुर्खेतका हर्खबहादुर दर्लामी रहेका छन् ।
अभियुक्त दर्लामी विक्रम संवत् २०५६ कात्तिक ४ गते राति १२ बजे साँझेचौरस्थित जंगलमा पैसा माग्दा नदिएको रिसिइबीले उनकै गाउँ बस्ने चन्द्रबहादुर राई मगरलाई कुटपिट गरी सख्त घाइते (बेहोस) बनाउने घटनामा संलग्न भएका थिए ।बेहोस बनाइएका राईमगरलाई प्रहरी र स्थानीयवासीको साहयतामा उपचारका लागि सुर्खेत लगिएको थियो ।
राईमगरको उपचारको क्रममा सुर्खेत अस्पतालमा मृत्यु भएपछि उनको कुटपिटको घटनामा संलग्न अभियुक्त दर्लामी त्यसपछि फरार थिए ।मृतकका बुबा धनबहादुर राईमगरले घटनापश्चात् फरार दर्लामीको खोजतलासबाट पक्राउ गरी कानूनबमोजिम हदैसम्मको कारवाही गरी पाऊँ भन्ने व्यहोराको जाहेरी दरखास्त दिएका थिए ।
सोही निवेदनअनुसार फरार रहेका दर्लामीलाई खोजतलास गर्ने क्रममा जेठ ९ गते आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी सोही स्थानबाट प्रहरीले पक्राउ गरेको थियो ।पक्राउ परेका उनलाई जिल्ला अदालत सुर्खेतमा अनुसन्धान कार्यका लागि पेश गरिएको र अध्ययन अनुसन्धानको कारवाही प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
