
पोखरा । पोखरामा सोमबार दिउँसो करिब दुई घण्टामा ५५ मिलीमिटर वर्षा भएको छ। हावा चल्नेमा भने यो वर्ष कै रेर्कड कायम गरेको क्षेत्रीय हावापानी कार्यालय पोखराले जनाएको छ ।
पानी सगैँ प्रति सेकेण्ड ३० मिटरको गतिमा हावा चलेको कार्यालयले जनाएको छ । पोखरामा सोमबार साढे दुई बजे देखी पानी पर्ने शुरु भएर साढे ४ बजे सम्म परेको थियो ।
एक साता अगाडी पोखरामा साढे दुई घण्टामा ५६ दशमलब ७ मिलीमिटर वर्षा भएको थियो । केही दिनयता लगातार वर्षा भएपनि सोमबार दिउँसो अत्यधिक वर्षाले पोखरेलीको जीवन अस्तव्यस्त बन्न पुगेको थियो ।
कार्यालयका नायव मौसम विज्ञान सहायक सुरेश खनालका अनुसार प्रि–मनसुन सहित स्थानीय प्रभावका कारण पनि पोखरामा छोटो समयमै अत्यधिक वर्षा भएको हो । कास्कीको लुम्ले नेपालमै सबैभन्दा बढी वर्षा हुने स्थलको रुपमा परिचित छ ।
सामान्यतया नेपालमा हरेक वर्ष जुन १० देखि मनसुन सुरु भई ३ महिनापछि २३ सेप्टेम्बर सम्म पश्चिमबाट बाहिरिने गर्छ । यसरी हेर्दा मनसुन सुरु हुन अझै १४ दिन बाँकी छ ।
