गण्डकी प्रदेशमा १ सय ७५ उद्योग खोलिने

Share:

पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेश सरकारले आउने वर्षभित्र हिमालमा २५, पहाडमा ५० र तराईमा १ सय उद्योग खोलेरै छाड्ने उद्घोष गरेका छन् ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र पोखरा उद्योग वाणिज्य संघको आयोजनामा सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशमा निर्यात सम्भावना, आयात प्रतिष्थापन तथा अन्तरप्रादेशिक प्रोफाइल प्रतिवेदन तयारी सम्बन्धी गोष्ठीमा बोल्दै मन्त्री लम्सालले यस्तो बताएका हुन् ।

‘हामीले चालु आर्थिक वर्षमा नै उद्योग खोल्ने घोषणा गरे पनि कार्यविधी बनाउँदै र सम्भाव्यता अध्ययनमै समय बित्यो’, उनले भने,‘अब हामी सम्भाव्यता अध्ययनसहित स्थानीय कच्चा पदार्थ प्रयोग हुने उद्योग खोलेरै छाड्छौँ ।’ उनले प्रदेश सरकारले सबै स्थानीय निकायमा उद्योगग्राम खोल्ने नीति ल्याए पनि मन्त्रालयबीच समन्वय नहुँदा त्यो योजना अलपत्र परेको पनि स्वीकार गरे।

अहिले देशलाई वायुपङ्खी गतिको विकास चाहिएको बताउँदै उनले जनताको अगाडि गएर माइकबाट यो पनि गछौँ, त्यो पनि गर्छौ भन्ने विकासको भोक जगाएको पनि स्वीकारे ।मन्त्री लम्सालले स्थानीय तहको सरकारले जनतालाई सेवा दिन नसकेको पनि आरोप लगाए । स्थानीय तह सरकार हो भने सेवा पनि दिनुपर्ने उनको जिकिर थियो ।

कमेन्ट गर्नुहोस्
Share: