
काठमाडौं । नेकपाका सांसद खगराज अधिकारीले संसद बैठक कक्षबाट भाँचिएका कुर्सी हटाउन माग गरेका छन्। भाँचिएका कुर्सी कारण आफू लडिसकेको बताउँदै उनले सभामुखमार्फत् संसद सचिवालयको गम्भीर ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुखसँग समय लिएर बोल्दै सांसद अधिकारीले भाँचिएको कुर्सी नै देखाएर संसदको ध्यानाकर्षण गराएका हुन्।
‘चार पटक भयो सभामुख महोदय म यहाँबाट लडेको । अहिले सम्म दुर्घटना भएको छैन, बचिएको छ । तर यो कतिपटक भन्नुपर्ने हो संसद सचिवालयलाई? आगामी दिनमा यस्ता कुर्सी कम्तिमा नराखियोस। यो त धराप भयो’, बैठककक्षमा भाँचिएको कुर्सीको आधी भाग उचालेर देखाउदै उनले भने, ‘त्यसकारण यो त धेरै गम्भीर आपत्तिको विषय भएको हुनाले ज्यान जोगाई पाऊँ भन्नुपर्ने अवस्था आयो ।’ उनको ध्यानाकषण संगै संसद बैठक कक्षमा हाँसो छाएको थियो।
