डोल्पाको पाटनमा यार्सागुम्बा संकलन गर्न गएका आठ जनाको मृत्यु

Share:

जाजरकोट –डोल्पाको पाटनमा यार्सागुम्बा संकलनका लागि गएका आठ जनाको मृत्यु भएको छ । अधिकांशको मृत्यु लेक लागेर र केहीका भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यार्सा संकलनका लागि जाँदै गर्दा शेफोक्सुण्डो गाउँपालिकाको लामा डाँडालेकमा लेक लागेर जुम्ला पतारासी गाउपालिका ६ का १७ वर्षीय गोपाल विष्टको मृत्यु भएको हो । यस्तै जेठ १० गते कागमारास्थित लेकमा भिरबाट लडेर जुम्ला गोठीचौर गाउँपालिका ४ का ४४ वर्षीय जयकृण पाण्डे मृत्यु भयो ।  जेठ १६ गते ग्यालवारा पाटनमा भीरबाट लडेर डोल्पा ठूलीभेरी नगरपालिका ११ वर्ष ३८ की बुद्धिकुमारी कार्कीको  निधन भयो। जेठ १७ गते शेफोक्सुन्डो गाउपालिकाको प्यारीकोप्कामा लेक लागेर जाजरकोटका बारेकोट गाउँपालिका ६ का २२ वर्षीय रमेश चलाउनेको  मृत्यु भयो।  जेठ १८ गते लेक लागेर जाजरकाटको बारेकोट गाउँपालिका १ का १८ वर्षीय कृष्ण विकको  निधन भएको थियो।

त्यस्तै डोल्पो बुद्ध गाउँपालिकाको ताक्सी लेकमा जेठ २० मा लेक लागेर रुकुम पश्चिम आठविसकोट नगरपालिका  ९ का ३९ वर्षीय कृष्णबहादुर शाहीको निधन भयो।  जेठ १९मा ग्यालवारा पाटनमा डोल्पा ठूलीभेरी नगरपालिका ५ की ४० वर्षीया धनकला बुढाको मृत्यु भयो। यस्तै चिसोको कारण यही जेठ २० गते काइके गाउपालिकाको व्यास रिखीमा कान्छी विकको नवजात शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डोल्पाले जनाएको छ ।

फोनको पहुँच नभएका कारण के कति बिरामी छन् र कहाँ के भइरहेको थाहा हुन नसकेको जनाइएको छ । यार्सा संकलनकर्ताको स्वास्थ्यलाई ध्यान दिएर नौ ठाउँमा स्वास्थ्य शिविर राखिएको छ । शिविरहरूमा घाइते र बिरामीको उपचार भइरहेको छ। डोल्पाका ७० भन्दा बढी पाटनमा यार्सागुम्बा संकलन भइरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: