
बाँके – बाँके जिल्लाको छुट्टाछुट्टै ठाउँमा बुधबार हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३० घर जलेर नष्ट भएका छन् । हावाहुरीसँगै परेको चट्याङका कारण डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा एक जना स्थानीयवासी जलेर घाइते भएका छन् ।
घटनामा घाइते भएकी १५ वर्षीया नन्की यादवलाई उपचारका लागि सीमावर्ती भारतीय बजार लगिएको जनाइएको छ । चट्याङपछि छोटी चौफेरीका रामखेलावन यादवको घरबाट सुरु भएको आगोले २९ घर जलेर नष्ट भएको हो । आगलागीका कारण लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ ।
यसैगरी बाँकेकै खजुरा गाउँपालिका वडा नं ६ सिमलघारीमा पनि बुधबार चट्याङपछि स्थानीय गोरख विकको घरमा आगलागी भएको छ । आगलागीबाट अन्नपात लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जानकारी दिएका छन् । स्थानीय, प्रहरी र नेपालगञ्ज उपमहानगरपालिकाको दमकलको सहयोगले आगो नियन्त्रणमा लिइएको थियो ।
