सवारी चाप कम गर्न बेनीमा वैकल्पिक सडक निर्माण

Share:

म्याग्दी। हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा बढ्दो सवारी साधनको चाप कम गर्नाका लागि वैकल्पिक सडक निर्माण गरिएको छ । बेनी नगरपालिकाले वडा नं ८ कालीपुलदेखि विद्युत् प्राधिकरणको कार्यालय हुँदै गणेशटोलको मन्दिर जोड्न वैकल्पिक सडक निर्माण गरिएकोे हो ।

यो सडकबाट शिक्षामार्ग, क्याम्पसचोक, अस्पतालचोक र पीपलचोक क्षेत्रमा हुने सवारीसाधनको चाप कम हुने बताइएको छ । वैकल्पिक सडकबाट मोटरसाइकल, ट्याक्सी र जीप आवतजावत गर्न सक्ने उपभोक्ता समितिका सचिव भीमसेन बराइलीले बताए । सोह्र फिट अग्लो पर्खाल बनाएर माटो भरेर एकातर्फी सवारी साधन आवतजावत गर्न सक्ने बनाइएको छ । सडकको घुम्तीमा रेलिङ र ढलानका लागि तयारी गरिएको छ ।

यो सडकले करीब एक किलोमिटर घुमाउरो बाटो १०० मिटरमा छोटिएको छ । सडक निर्माणका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा रु १० लाख विनियोजन गरेको वडाध्यक्ष रामकृष्ण बराइलीले बताए । गत वर्ष विनियोजित रु पाँच लाखबाट सडक निर्माण शुरु भएको थियो । कूल लागतको १५ प्रतिशत जनसहभागिता रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: