जिल्ला अदालत स्याङ्जामा मुद्दाको चाप बढ्यो

Share:

वालिङ- पछिल्ला छ वर्षको तुलनामा स्याङ्जा जिल्ला अदालतमा यसवर्ष सबैभन्दा धेरै मुद्दा दर्ता भएका छन् ।चालू आर्थिक वर्षको गत मंगलवारसम्ममा स्याङ्जा जिल्ला अदालतमा कूल ८९९ मुद्दा दर्ता भएका जिल्ला अदालत स्याङ्जाका स्रेस्तेदार नन्दप्रसाद आचार्यले बताए ।

विभिन्न घटनामा ६९९ मुद्दा चालू आवको हालसम्म दर्ता भएका हुन् भने २०० मुद्दा अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका स्रेस्तेदार आचार्यले बताए ।हालसम्म कूल ८९९ मुद्दामध्ये ४६८ थान मुद्दा फर्छ्यौट भएका छन्,’ स्रेस्तेदार आचार्यले भने, ‘चालू अवस्थामा ४३१ थान मुद्दा छन्, आर्थिक वर्ष सकिन झण्डै एक महिना रहेकाले मुद्दाहरू थपिने र फर्छ्यौट हुने क्रम अझै बढेर जान्छ ।’

स्याङ्जा जिल्ला अदालतमा आव २०७४/७५ मा ७४४, २०७३र७४ मा ६७९, २०७२/७३ मा ८०८, २०७१/७२ मा ६०५ र २०७०/७१ मा ५७८ मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा सम्बन्धविच्छेद, लागूऔषध ओसारपसार, जबर्जस्ती करणी, अंशबण्डा, माना चामल, कर्तव्य ज्यान मुद्दा, केही सार्वजनिक अपराध मुद्दा, चोरी, मानव बेचबिखन, कुटपिट तथा लुटपाट जस्ता मुद्दाहरु दर्ता भएका छन् ।

‘ख’ वर्गमा रहेको स्याङ्जा जिल्ला अदालतले सर्वोच्च अदालतको पञ्चवर्षीय योजनाअन्तर्गत ७० प्रतिशत मुद्दा फर्छ्यौट गर्नुपर्नेमा हालसम्म करीब ५३ प्रतिशत मुद्दा फर्छ्यौट गरेको स्रेस्तेदार आचार्यले बताए । स्रेस्तेदार आचार्यका अनुसार स्याङ्जा जिल्ला अदालतमा कार्यरत दुई जना न्यायाधीश सरुवा हुनु, संहिता लागू भएपछि नयाँ विषयमा अदालतमा मुद्दाहरू प्रवेश गर्नु, पुरुषवादी भएका सम्बन्ध विच्छेदका मुद्दा एक वर्ष नभई छिन्न नपाइने देवानी संहिता २०७४ को दफा ९८ को प्रतिबन्धात्मक व्यवस्थाका कारण ढिलाइ भएको हो ।

कमेन्ट गर्नुहोस्
Share: