काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आईफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार नरहेको तर सम्पन्न गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री बास्कोटाले आईफा अवार्ड नेपालको हितमा हुने भएकाले त्यसलाई सम्पन्न गरेरै छाडने दृढता पनि व्यक्त गरे । मंगलबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले सो अवार्डबारे प्रश्न उठाएपछि उनले आईफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार नरहेको प्रष्टयाउनु भएको हो ।
मन्त्री बास्कोटाले आईफा अवार्डको प्रसंग उल्लेख गर्दै सरकारले कुनै पनि क्षेत्रमा घाटाको व्यापार नगर्ने स्पष्ट पारे । उनले ‘नेपाल भ्रमण वर्ष-२०२०’ लाई सफल बनाउन पनि सरकारले सो अवार्ड आयोजना गर्न स्वीकृति दिएको पनि बताए । बैठकमा बोल्दै समितिका सदस्यहरुले नेपाली चलचित्र क्षेत्रका लागि केही पनि योगदान दिन नसकेको सरकारले बलिउडका कलाकारहरुको अवार्डका लागि एक अर्ब बजेट दिने समाचार बाहिर आएको उल्लेख गर्दै आपत्ति जनाएका थिए ।
समितिका सदस्य रामबहादुर विष्टले राष्ट्रिय कलाकारहरुको हितमा केही पनि काम गर्न नसकेको सरकारले सो अवार्डका लागि अर्बौंको बजेट दिन लागेको भन्दै आपत्ति जनाए । समितिका सदस्यहरुले निजी क्षेत्रले विभिन्न देशमा सञ्चालन गर्दै आएको सो अवार्डको आयोजनामा नेपाल सरकारले नै लगानी गर्न किन पुर्यो ? भनि प्रश्न पनि गरेका थिए ।
