
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको श्रमशक्तिको समुचित उपयोग हुने गरी नीति र कार्ययोजना आवश्यक रहेको बताएका छन् । पोखरा विश्वविद्यालयको २० औं साधारण सभालाई मंगलवार बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालको श्रमशक्तिलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा विश्वविद्यालयले योजना बनाउन सक्ने उल्लेख गरे । ‘हाम्रोमा देश विकास गर्ने जनशक्ति छ तर बाहिर गइरहेको छ । देशमा काम पाएको छैन । पायो भने सीप र क्षमता छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसकारण हामीसँग भएको जनशक्तिलाई कस्तो प्रकारको सीप र शिक्षा दिने भन्ने योजना विश्वविद्यालयले बनाएर त्यहीँबाट कार्यान्वयन शुरू गर्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले नेपाल विद्वानपूर्खाको देश भएको बताए । पौराणिक कालका ऋषिमुनिले यही भूमिबाट ज्ञान प्राप्त गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘शासकहरूमा दृष्टिकोणको अभाव हुँदा नेपाल केही समयपछि परेको हो तर अब यो अवस्था लामो समय रहँदैन ।’
प्रधानमन्त्री ओलीले देशको आवश्यकता र शिक्षाको तादाम्यता नमिल्दा ठूलो–ठूलो योग्यता हासिल गरेका मानिस पनि बरोजगार बन्नुपरेको बताए । ‘कसैले खेत बेचेर पाइलट बनेका छन् तर जहाजको छेउमा पनि जान पाउँदैनन्,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्तो अवस्थामा उसको समय, स्रोत सबै खेर जान्छ । त्यसकारण रोजगारीका अवसर कहाँ छन् भनेर पहिचान गरेर मात्र शिक्षामा लगानी गर्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले स्थानीय आवश्यकता, रोजगारीको अवसर आदि कुराको विश्लेषण गरेर मात्र विश्वविद्यालयले नयाँ शैक्षिक संस्थालाई सम्बन्धन दिनुपर्ने बताए । ‘विश्वविद्यालयले जथाभावी सम्बन्धन दिने काम बन्द गर्नुहोस्,’ प्रधानमन्त्री ओलीले भने ।
File Photo
