समाजवादी पार्टी नेपाल प्रदेश नं.४ मा मोती रिजाल, नश्लीय चिन्तनले मुलुक बर्बादः अध्यक्ष डा.भट्टराई

Share:

पोखरा । संघीयता, सुशासन, समृद्धि, समाजवाद सैद्धान्तिक मान्यताका आधारमा गत बैशाख २३ गते काठमाडौंमा एकिकृत भएको संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपाल बिचको प्रदेश नं.४(गण्डकी)को समायोजन गरिएको छ । मंगलबार पोखरामा आयोजित कार्यक्रममा उक्त दुई पार्टी बिचको गण्डकी प्रदेशको समायोजन गरिएको हो ।

पार्टी समायोजन गर्न गठित कार्यदलमा रहेका पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई, केन्द्रीय उपाध्यक्ष हेमराज राई, महासचिव गंगानारायण श्रेष्ठ र उपमहासचिव प्रकाश अधिकारीले दुवै पार्टीको प्रादेशिक र उक्त प्रदेश भुगोल भएका केन्द्रीय सदस्यहरुसँग छलफल गरी समायोजन घोषणा गरिएको छ।

समायोजन प्रदेश समितिको अध्यक्षमा मोती रिजाल, पाँच उपाध्यक्षहरुमा दीपक तामाङ, गुणाखर बस्याल, हेमबहादुर थापा, रमेश पोखरेल, काशीमाया गुरुङ, मुख्य सचिवमा हेमन्त थापामगर, सचिवमा रेखी गुरुङ, तारा नेपाली र पार्वती जिसी, कोषाध्यक्षमा भुवन रिजाल रहेको कार्यकारिणी समितीसहित ५३ सदस्यीय घोषणा गरिएको छ ।

उक्त घोषणा पार्टीका केन्द्रीय सदस्य तथा तत्कालिन नयाँ शक्ति पार्टी प्रदेश संयोजक देवी सुवेदीले गरेकी हुन् । समायोजित समितिलाई पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।

समायोजन घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा.बाबुराम भट्टराईले मुलुक संघीयतामा प्रवेश गरिसके पनि शासकहरुमा अझै नश्लीय चिन्तनले मुलुक बर्बादीतर्फ गइरहेको बताए । एकल जातिय अर्थात नश्लीय मानसिकता नै राष्ट्र सुशासन र समृद्धितर्फ अग्रसर हुन नसकेको बताए । बहुलवादी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा सबै जाति, भाषा, धर्म, संस्कृति, वर्ग, लिंग, क्षेत्रलाई समाहित गरेर अघि बढ्न नसके, मुलुकको यथार्थतालाई सम्मान गर्न नसके मुलुक समृद्ध हुनुनसक्ने उनको भनाई थियो ।

उनल भने, “संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै दश जोड एक राज्यको पुनसंरचनाको अधुरो कार्यलाई प्रस्थान विन्दु बनाउँदै संघीयताको अभ्यास, सुशासन, समृद्धि हुदै समाजवादतर्फ मुलुक हाँक्न बैकल्पिक राजनीतिक निर्माणका लागि दुई पार्टी एकता गरी अघि बढेको हो ।” सथै स्वार्थ र अहमतामा लागि नभई ज्ञान र विज्ञानमा आधारित जनताको पार्टी बनाउनकै लागि एकिकृत रुपमा समाजवादी पार्टी नेपाल गठन गरिएको उनको भनाइ थियो ।

समायोजन समितिलाई शुभकामना दिँदै आगामी निर्वाचनमा प्रदेशको शक्तिशाली पार्टीको विकास गर्न प्रदेश समिति प्रतिवद्ध रहनुपर्ने मा जोड दिए ।

उक्त कार्यक्रममा विभिन्न क्षेत्रका देवेन्द्र खड्का सहित ११ जनाले समाजवादी पार्टी नेपालमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई अध्यक्ष डा.भट्टराईले अबिर लगाएर स्वागत गरेका थिए ।

तत्कालिन संघीय समाजवादी फोरम प्रदेश अध्यक्ष दीपक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रत्न भट्टचनले स्वागत र तत्कालिन नयाँ शक्ति पार्टीका कास्की संयोजक हेमबहादुर थापाले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: