आगरा–पोखरा सिधा बस सेवा माग

Share:

पोखरा ।  उत्तर भारतको पर्यटकीय शहर आगराका व्यवसायीले सो शहर र पोखरा विच सिधा बस सेवा संचालनको सुझाव राख्दै त्यस्तो सेवा भए भारतीय नागरिकलाई पोखरा पुग्न सहज हुने भनाई राखेका छन् ।

बोर्डर टाउन सेल्स मिसन अन्तर्गत चलिए पोखरा अभियान पुनः सुरु गर्न पश्चिमाञ्चल होटल संघ पोखराको अगुवाईमा आगरा पुगेको होटलकर्मीको टोलीसँग आगराका व्यवसायीले पोखरा पुग्नका लागि कनेक्टिभिटीको सवाल अगाडि सारेका हुन् ।

संघले नेपाल पर्यटन बोर्डसँग मिलेर आगरामा मंगलबार साँझ आयोजना गरेको अन्तरक्रिया तथा पत्रकार भेटघाट कार्यक्रममा नेपाल भारत मैत्री बस सेवा आगरा डिपोका प्रबन्धक अनिल कुमारले पोखरा दिल्ली सिधा बस सेवा संचालनरत भएजस्तै आगरालाई पनि त्यस्तो सेवामार्फत् पोखरा सँग जोड्न जरुरी भएको भनाई राखे ।

होटल एण्ड रेष्टुरेण्ट अनर एशोसिएशन आगराकाका प्रतिनिधि रमेश वादवाले पोखरा र काठमाडौं लगायत थुप्रै अन्य शहरहरु निकै सुन्दर भएको भन्दै भारतीयले ती शहरको भ्रमण गर्नुपर्ने सुझाव राखे ।

पोखरा प्रति भारतीयहरु पनि जिज्ञासु भएको भन्दै पोखरा सम्बन्धी प्रबद्र्धन कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गरे । आगरा स्थित होटल चाणक्यकी प्रबन्ध निर्देशक बन्दना प्रसादले पोखरा सम्बन्धी प्रबद्र्धनात्मक वृत्तचित्र हेरेर आफू प्रभावित भएको बताइन् । पोखरा र आगरा विच पर्यटक आदानप्रदान गरेर अगाडि बढ्न सकिने प्रशस्त संभावना भएको उनले स्मरण गराइन् ।

यही असार २० गते सम्म संचालनहुने अभियान उत्तर प्रदेशको राजधानी लखनउ र विहारको राजधानी पटनामा पनि संचालन हुने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: