पोखरा विश्वविद्यालयको प्राध्यापक नियुक्ति प्रक्रिया विवादमा

Share:

काठमाडौं– पोखरा विश्वविद्यालयले प्रस्ताव गरेको उपप्राध्यापकको प्राध्यापकमा बढुवा गर्नेसम्बन्धी आन्तरिक कार्यविधि विवादमा तानिएको छ । पोखरा विश्वविद्यालय प्राध्यापक संघको लबिङमा विश्वविद्यालयले छलफल बिनै गुपचुप ढंगले विश्वविद्यालय सभामा प्रस्ताव लगेपछि कार्यविधि विवादमा तानिएको हो ।

आफूहरुसँग कुनै छलफल नगरीकन करारको बाटो हुँदै उप–प्राध्यापकलाई प्राध्यापक बनाउने योजनाका साथ कार्यविधि ल्याइएको खुला प्रतिस्पर्धाबाट आएका उपप्राध्यापकहरुले बताएका छन् । मंगलबार काठमाडौंमा भएको विश्वविद्यालय सभामा सो कार्यविधि पेश भएपनि शिक्षामन्त्री गिरीराजमणि पोखरेलले पर्याप्त छलफल गरेर मात्रै कार्यविधि पारित गर्ने बताएपछि हाललाई सो प्रस्ताव रोकिएको छ ।

असन्तुष्ट समूहले शिक्षामन्त्री पोखरेललाई यसबारे जानकारी गराएपछि मन्त्री पोखरेलले विवाद समाधान भएपछि मात्रै कार्यविधि पारित गर्न निर्देशन दिएको बताइएको छ ।

एक उपप्राध्यापकका अनुसार पोखरा विश्वविद्यालयमा २०७१ सालमा विभिन्न माध्यमबाट करार सेवामा रहेका शिक्षकहरुले स्वत स्थायीका माग राख्दै आन्दोलन थालेपछि उनीहरु २०७३ सालमा उपप्राध्यापकमा नियुक्त भएका थिए । फेरि उनीहरुलाई नै प्राध्यापक बनाउने गरी कार्यविधि ल्याइन लागेको दाबी गर्दै खुल्ला प्रतिस्पर्धाबाट आएका उपप्राध्यापकहरुले विरोध जनाएका हुन् ।

पोखरा विश्वविद्यालयका प्राध्यापक नन्दराम गहतराजले कार्यविधि सभामा पेश गरेको सुनिएको भएपनि आफूलाई यसबारे धेरै थाहा नभएको बताए । यद्यपि, कार्यविधिले बढुवा गरिँदा खुल्ला प्रतिस्पर्धाबाट आएकाहरुलाई सम्बोधन नगरिए आफूहरुलाई मान्य नहुने उनको भनाई छ ।

अर्का एक खुल्ला प्रतिस्पर्धाबाट आएका प्राध्यापकले पोखरा विश्वविद्यालय प्राध्यापक संघमा बहुमत करारबाट स्थायी भएका उपप्राध्यापक रहेको भन्दै उनीहरुले गोप्य र अपारदर्शी तरिकाले एजेण्डा बोकेर सभामा प्रस्तुत गरेको आरोप लगाए । संघका ७ मध्ये ५ जना करार सेवामा प्रवेश गरी आन्दोलनको बलमा उपप्राध्यापक भएकाहरु रहेको उनको दाबी छ ।

यसबारेमा पोखरा विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष हेमराज पाण्डेले सभामा एजेण्डामात्रै लगिएको भन्दै केही व्यक्तिहरुले अनावश्यक विवाद सिर्जना गरेर भ्रम छर्ने प्रयास गरेको आरोप लगाए । उनका अनुसार एजेण्डा सभामा लगिएको भएपनि अहिलेसम्म कुनै निर्णय भएको छैन । यदी एजेण्डा पारित भएको खण्डमा करार र खुला प्रतिस्पर्धाबाट आएका सबै उपप्राध्यापकहरुलाई फाइदा पुग्ने पनि उनले दाबी गरे ।

कमेन्ट गर्नुहोस्
Share: