
अनुप पौडेल, पोखरा ।
फूलको थुङ्गा, बहेर गयो गङ्गाको पानीमा
कहिले भेट, होला है राजै यो जिन्दगानीमा
झरिको पछि झुल्केको घाममा निर्झर पहाडको
भर्खरै पृती बसेको बेला पिर र्पयो बिछोडको ।
गायिका डोल कुमारी कार्की (तारादेवी) ले गाएको गीतको हरफ हो यो । भनिन्छ नि कसैको सम्झनामा रहिरहन सम्झनलायक काम गर्नुपर्छ । त्यस्तै सम्झनलायक पात्र हुन् स्वर किन्नरी तारादेवी र स्वर साम्राज्ञी अरुणा लामा।
स्वर किन्नरीको उपमा पाएकी तारादेवीले आफ्नो ४० वर्षे सांगीतिक जीवनकालमा चार हजार भन्दा बढी गीत गाएकी छन् । नेपाली वाङ्मयको विकासमा अतुलनीय योगदान गरेकी तारादेवीले धर्ती छाडेको १४ वर्ष पुगिसक्यो । तर उनले गाएका गीत र उनलाई अझै पनि धेरैले सम्झन्छन् ।
यस्तै सम्झनलायक अर्की पात्र हुन् स्वर साम्राज्ञी अरुणा लामा । २०१६ सालमा रेकर्ड गरिएको ‘ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न’ बोलको उनको पहिलो गीतको चर्चा पनि त्यो बेला कम थिएन ।
‘हेर न हेर कान्छा’, ‘उडी जाऊँ भनें म पंछी होइन’, ‘हिमालसरी म अग्लिरहेछु’, ‘तिम्रो हाम्रो जिन्दगानी घाम छाँया पोखे जस्तो झरिएका पातहरुमा’, ‘शीतकोे थोपा फुटे जस्तो’, ‘भेटिनु छुटिनु त के हो र संसारको रित हो’ बोलका गीत उनका लोकप्रिय गीत हुन् ।
वेदना, पीडा र व्यथाका कालजयी गीत गाएका यी दुई गायिकालाई पोख्रली गायिकाहरुले एक कार्यक्रमको आयोजना गरी सम्झदै छन् । हार्मोनी : द मोर्डन सङस्ट्रेसेस अफ पोखराले गायिकाद्वय तारादेवी र अरुणा लामालाई उनीहरुले गाएका गीतमार्फत ‘ट्रिब्युट’ गर्ने भएको हो ।
’टेस्ट अफ हार्मोनी : धुनहरुमा तारादेवी र अरुणा लामा’ नाम दिइएको कार्यक्रम शनिबार दिउँसो १ बजेदेखि पोखराको सभागृह हलमा सुरु हुनेछ । कार्यक्रममा सहभागी हुन् रु ५ सय र एक हजारको टिकटको व्यवस्था गरिएको छ ।
सुगम संगीतको यात्रा र क्षेत्रलाई फराकिलो बनाउने लक्ष्यका साथ २०७३ सालमा स्थापना भएको संस्थाको यो तेस्रो कार्यक्रम हो । संस्थामा क्रियाशील दर्जन बढी गायिकाहरुले नेपाली सुगम संगीतका दुई हस्तीका गीतहरु गाउनेछन् ।
त्यस्तै कार्यक्रममा कर्ण दास, रामभक्त जोजिजु, विनोद बानियाँ र ज्ञान थापाको पनि विशेष प्रस्तुति हुनेछ । सोही कार्यक्रममा तीन जना कलाकारहरुलाई सम्मान गरिने संस्थाकी अध्यक्ष ईतु जोजिजुले जानकारी दिइन् ।
दार्जिलिङकी गायिका दावा ग्याल्मो, पोखरेली गायक कर्ण दासकी आमा र नृत्याङ्गाना रत्न दासलाई हार्मोनी सम्मानबाट सम्मान गरिनेछ । यस्तै उदयीमान गायिका जोनिशा पौडेललाई युवा प्रतिभा सम्मान प्रदान गरिने संस्थाकी सचिव बबि सुनारले बताइन्।
संस्थाले पोखरामा नै यसअघि ‘लेजेन्डरी हार्मोनियस इभिनिङ’ र ‘टेस्ट अफ हार्मोनी’ नामबाट दुई वटा कार्यक्रम गरिसकेको छ । तेस्रो कार्यक्रमका लागि रारा चाउचाउले टाइटल स्पोन्सर गरेको छ भने दि मुग्लान रेष्टुरेन्ट एण्ड बारले प्रस्तुतकर्ताको भूमिका निभाएको छ ।
यसैबीच पोख्रेली गायिकाहरुले नेपाली सुगम संगीत धरासायी बन्न लागेको भन्दै दु:ख व्यक्त गरेका छन् । शनिबार हुने कार्यक्रमको बारेमा जानकारी दिन बिहिबार आयाजित पत्रकार सम्मेलनमा बोल्दै संस्थाकी अध्यक्ष जोजिजुले सुगम संगीतप्रति वर्तमान पुस्ता जानकार नरहेकाले पनि यस्तो हुन् गएको भन्दै दु:ख व्यक्त गरिन् ।
सुगम संगीतका कार्यक्रम कम हुनु र यसप्रति इच्छा भएकाहरु पनि बाहिर नआउन नसकेको उनको गुनासो छ । उनले भनिन्, ‘महिला गायिकाहरुले ठाउँ नपाउनु प्रमुख समस्या बनेको छ, त्यसले गर्दा सुगम संगीतप्रति इच्छा भएकाहरु पनि बाहिर आउन सकेका छैनन् ।’
Photo- Jukson.Com
