पोखरामा आज ‘तारादेवी र अरुणा लामा’ का कालजयी गीत गुञ्जिँदै

Share:

पोखरा । पोखरामा आज “टेस्ट अफ हार्मोनी : धुनहरुमा तारादेवी र अरुणा लामा” कार्यक्रम हुँदै छ । “हार्मोनी : द मोर्डन सङ्गस्ट्रेसस अफ पोखरा” नामक संस्थाले कार्यक्रमको आयोजना गरेको हो ।

गायिकाद्वय तारादेवी र अरुणा लामालाई उनीहरुले गाएका गीतमार्फत ‘ट्रिब्युट’ गरिँदै छ । पोखरा सभागृहमा दिउँसो १ बजेबाट कार्यक्रम सुरु हुनेछ । दशकौं पुराना गीतहरुको संरक्षण गर्दै अहिलेका युवापुस्तामाझ प्रस्तुत गर्ने लक्ष्य कार्यक्रमको रहेको छ ।

कार्यक्रममा सहभागी हुन् रु ५ सय र एक हजारको टिकटको व्यवस्था गरिएको छ । सुगम संगीतको यात्रा र क्षेत्रलाई फराकिलो बनाउने लक्ष्यका साथ २०७३ सालमा स्थापना भएको संस्थाको यो तेस्रो कार्यक्रम हो ।

संस्थामा क्रियाशील दर्जन बढी गायिकाहरुले नेपाली सुगम संगीतका दुई हस्तीका गीतहरु गाउनेछन् । त्यस्तै कार्यक्रममा कर्ण दास, रामभक्त जोजिजु, विनोद बानियाँ र ज्ञान थापाको पनि विशेष प्रस्तुति हुनेछ ।

सोही कार्यक्रममा तीन जना कलाकारहरुलाई सम्मान गरिने संस्थाकी अध्यक्ष ईतु जोजिजुले जानकारी दिइन् । दार्जिलिङकी गायिका दावा ग्याल्मो, पोखरेली गायक कर्ण दासकी आमा र नृत्याङ्गाना रत्न दासलाई हार्मोनी सम्मानबाट सम्मान गरिनेछ ।

यस्तै उदयीमान गायिका जोनिशा पौडेललाई युवा प्रतिभा सम्मान प्रदान गरिने संस्थाकी सचिव बबि सुनारले बताइन्। संस्थाले पोखरामा नै यसअघि ‘लेजेन्डरी हार्मोनियस इभिनिङ’ र ‘टेस्ट अफ हार्मोनी’ नामबाट दुई वटा कार्यक्रम गरिसकेको छ ।

तेस्रो कार्यक्रमका लागि रारा चाउचाउले टाइटल स्पोन्सर गरेको छ भने दि मुग्लान रेष्टुरेन्ट एण्ड बारले प्रस्तुतकर्ताको भूमिका निभाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: