
पोखरा । पोखराको विजयपुर खोलामा रहेको सवारी डाइभर्सनमा राखिएका ह्युम पाइप बाढीले बगाएको छ । पोखरा महानगरपालिका वडा नं. २६ र १४ लाई जोड्ने पक्की पुल जीर्ण भएपछि बनाइएको डाइभर्सन पनि आइतबार राति आएको बाढीले बगाएको हो ।
पक्की पुल कमजोर भएपछि १० टनभन्दा माथिका लोड बोक्ने मालवाहक सवारीको लागि डाइभर्सन बनाइएको थियो । आइतबार रातिको बाढीले भत्काएपछि मालबाहक सवारी साधानहरुको आवागमन ठप्प भएको छ।
दैनिक ६ हजारभन्दा धेरै सवारीसाधन आवातजावत गर्ने उक्त पुल गत वर्षको फागुनमा जीर्ण भएको पत्ता लागेपछि १० टनभन्दा धेरै भार भएका सवारी साधनको आवागमन ठप्प छ । पुलको स्टिल बिम चर्कँदा बढी भार भएका सवारी आवातजावतमा रोक लगाइएको हो ।
डाइभर्सन बाढीले बगाएपछि पोखरा भित्रिने तथा पोखराबाट बाहिरिने मालबाहक सवारीसाधनहरु सोमबार बिहान ५ बजेदेखि सडकमै लाम लागेका छन्।
बाढीले गर्दा यसअघि चर्किएर जोखिमयुक्त बनेको विजयपुरको पक्की पुलमा लगाएको फलामको सपोर्ट समेत बगाएको छ । जसका कारण सो पुलबाट सवारी आवागमन प्रभावित हुने भएको छ । बढी लोडका बसहरू समेत वारपार गर्न डराउनुपर्ने अवस्था आएको छ ।
पुल मर्मतको काम हुन सकेको छैन ।
हलुका यात्रुबाहक सवारी साधन सोही पुल हुँदै आवागमन गरिरहेका छन् ।पुलको विकल्पका रुपमा बेलीव्रिज निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ । असार मसान्तसम्ममा बेलिव्रिज निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी छ । तर, असार मसान्त सम्म पुल निर्माण कार्य सकिने संभावना निकै कम छ ।
