भोजपुरमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान, दुईको मृत्यु

Share:

काठमाडौं । भोजपुर सदरमुकाममा गोली चल्दा २ जनाको मृत्यु भएको छ । नेत्रविक्रम चन्द्र ‘विप्लव’ नतृत्वको नेकपाका कार्यकर्ताको गोली लागेर एक प्रहरी जवानको मृत्यु भएको छ । भने प्रहरीको जवाफी फायरिङका क्रममा विप्लवका एक कार्यकर्ताको पनि मृत्यु भएकोे छ ।
सदरमुकामको शनिबारे हटिया लाइनमा बुधबार बिहान सवा आठबजेतिर गोली चलेको हो ।

सदरमुकाममा विप्लव कार्यकर्ता हतियार सहित प्रवेश गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीमाथि विप्लव कार्यकर्ताले सुरुमा गोली प्रहार गरेका थिए । विप्लव कार्यकर्ताको गोली लागेर प्रहरी जवान सञ्जीव राईको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुने विप्लव कार्यकर्ता ओखलढुंगाका जिल्ला इन्चार्ज निरकुमार राई रहेको छ ।

प्रहरीले उनको साथबाट एक थान चाइनिज पेस्तोल, र पाँच राउन्ड गोली बरामद गरिएको बताइएको छ । भोजपुरमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रदेश एकको केन्द्रबाटसमेत प्रहरी घटनास्थलतर्फ गइरहेको छ ।

गत फागुनमा सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाएपछि विभिन्न हिंसात्मक घटना हुँदै आएका छन् । सरकारले विप्लवका कार्यकर्तालाई उच्च निगरानी राखेको छ ।

कमेन्ट गर्नुहोस्
Share: