
काठमाडौं । कप्तान पारस खड्का चम्किएपछि घरेलु टोली मलेसियाविरुद्धको पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालले सहज निकालेको छ । शनिबार भएको खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।नेपालको जितका कप्तान पारसले अविजित रहदै ८६ रनको अर्धशतकीय इनिङ्स खेले । ओपनरका रुपमा आएका कप्तान पारसले विस्फोटक ब्याटिङ गर्दै ३२ बलमा ५० रन पुरा गरेका थिए ।
योसँगै कप्तान पारस टी-ट्वान्टी अन्तराष्ट्रियमा दुई अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् । यस्तै पारस टी-ट्वान्टी अन्तराष्ट्रियको एकै इनिङ्समा सर्वाधिक रन बनाउने खेलाडी समेत बनेका छन् ।
कप्तान सुवास खकुरेलले बंगलादेशमा भएको सन् २०१४ को विश्वकपमा बनाएको ५६ रनको कीर्तिमान भङ गरे । सुवासले अफगानिस्तानविरुद्ध उक्त रन जोडेका थिए ।नेपालले अहिलेसम्म ३ खेलाडीले मात्र टी-ट्वान्टी अन्तराष्ट्रियमा अर्धशतक बनाएका छन् । कप्तान पारससँगै सन्दीप जोरा र सुबास खकुरेलले अर्धशतक बनाएका छन् ।
यस्तै नेपालको जितमा शरद भेषवाकरले अविजित १६ रन बनाए । ओपनर प्रदिप ऐरी ९, उपकप्तान ज्ञानेन्द्र मल्ल ७ र रोहित कुमार पौडेल ५ रनमा आउट भए ।मलेसियाका अनवर रहमानले २ तथा मोहमद फिट्रीले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो ।मलेसियाका लागि भिरन दिप सिंहले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । अहमेद फाइज मोहमद नुरले ४५ रन बनाए । यस्तै मोहमद फिट्रीले १२ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका लागि करण केसीले ३ विकेट लिए । यस्तै बसन्त रेग्मी र सन्दीप लामिछानेले २/२ विकेट लिए । सोमपाल कामीको नाममा १ विकेट रह्यो ।योसंगै नेपालले घरेलु टोलिविरुद्धको २ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । अब नेपालले आइतबार दोस्रो खेल खेल्नेछ ।
सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलको तयारीका लागि नेपालले मलेसियासँग दुई खेलको सिरिज खेलिरहेको हो ।सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ ।
एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् ।
