
पोखरा । आज असार २९ अर्थात् नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती । नेपाल तथा नेपाली रहेका विश्वभर विविध कार्यक्रम गरी आइतबार आचार्यको २०६औँ जन्मजयन्ती मनाइँँदै छ ।
भानु जयन्तीको अवसरमा आदीकवि आचार्यको गृह जिल्लामा बिशेष कार्यक्रमको आयोजना गरिएको छ । आदीकविको सम्मानमा भानु नगरपालिकाले आइतबार सार्वजनिक विदा नै घोषणा गरेर दिपावली गर्ने निर्णय गरेको छ ।
उनको जन्मस्थान चुँदी रम्घामा नगरपालिकाले शुक्रबार देखि आइतबारसम्म नगरपालिका भरि नै घर घरमा दियो बालेर दिपावली मनाउने निर्णय गरेको छ । नगरपालिकाको निर्णय अनुसार नै नगरबासीहरुले साँझमा घर बाहिर दियो बालेर झिलिमिली बनाएको हो।
शनिबार चुँदी रम्घामा कविता तथा रामायण बाचन कार्यक्रम समेत राखिएको थियो । भानुजयन्तीको अवसरमा दिने कार्यक्रम नै बनाएर शुक्रबार दिपावलीको सहित नेपालप्रहरी, जनपथ, नगरपालिकाका कर्मचारी र स्थानियहरुको सहभागितामा सरसफाई कार्यक्रम, शनिबार रामायण एवं कविता बाचन र आइतबार विशेष कार्यक्रम सहित प्रवचन प्रभातफेरी लगायतका कार्यक्रम रहेको छ ।
उनको सम्झनामा गृह जिल्लासँगै दार्जि्लिङ, सिक्किम लगायत नेपाली भाषी रहेका अधिकांश भारतीय क्षेत्र तथा विदेशमा समेत विभिन्न कार्यक्रमहरु हुने गरेका छन् । आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०५ वर्षअघि अर्थात् वि.सं.१८७१ असार २९ गते भएको थियो। धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यको रेखदेखमा भएको थियो।
आचार्यले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपालीभाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गरेका थिए । उनका ‘प्रश्नोत्तर’ ( १९१०), ‘भक्तमाला’ (१९१०) ‘वधूशिक्षा’ – १९१९), ‘रामगीता’(१९२५) तथा दर्जनौँ फुटकर रचना लगायत साहित्यिक कृति पनि प्रकाशित छन् । आचार्यले लेखेका पाण्डुलिपिलाई संग्रह गरेर मोतीरामभट्टले पुस्तकाकारमा प्रकाशन गरेर नेपाली जगतमा चिनाएका थिए ।जहाँ जुन प्रसंग आउँछ तत्काल कविता रच्न सक्ने क्षमता उनको थियो। उनको निधन १९२५ मा भएको थियो।
