
धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको वडा नं २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको ह्वासिन सिमेन्ट उद्योग गए रातिको बाढीले बगाएको छ । ताल्तीस्थित खोलालाई नियन्त्रण गरी निर्माण थालिएको सिमेन्ट उद्योग तीन दिनदेखिको वर्षाका कारण खोलामा आएको बाढीले बगाएको हो ।
रातिको समयमा बाढी आएको र बाढीमा फसेका ५ जना मजदुरलाई स्थानीय प्रहरी र ताल्तीका स्थानीयले उद्धार गरी बाहिर निकालेका छन् । दुबैतर्फ खोला बगेकोले बिच भागमा रहेको फलामका पोलहरुमा समातेर उनीहरु बचेका थिए ।
बाढीका कारण सिमेन्ट उद्योगको स्टोरमा क्षति पुगेको छ । ३ ओटा जीप र निर्माण स्थलमा प्रयोग भएको दुई वटा डोजर बगाएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
१५ अर्बको लगानीमा चिनियाँ ह्वासिन कम्पनीले सो उद्योग निर्माण शुरु गरेको चार महिना भएको छ । नौ महिनामा निर्माण सम्पन्न गरी दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरी उद्योगको निर्माण शुरु भएको थियो ।
