
काठमाण्डौ – सन् २०२० मा रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा उत्तिर्ण गरेका परीक्षार्थीको सीप परीक्षणको परीक्षा मिति सरेको छ ।
यो वर्ष रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया जाने कामदारको सीप परीक्षा मंसिर महिनामा हुने भएको वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले जनाएको छ ।
ईपीएसको लिखिप परीक्षामा पास भएकाहरुको सीप परीक्षा भदौ ४ देखि १८ गते हुने मिति तय भएको थियो । तर, कोरियाको एचआरडीले समय सार्न पत्राचार गरेपछि मिति सारेर मंसिर ४ गतेदेखि २९ गते सम्म हुने भएको शाखाले जानकारी दिएको छ ।
सीप परीक्षाको नतिजा भने पौष ४ गते सार्वजनिक हुनेछ । ईपीएसमार्फत दक्षिण कोरिया जानका लागि कोरियन भाषा परीक्षामा १२ हजार ९ जना परीक्षार्थी उत्तिर्ण भएका छन् ।
जसमध्ये कोरियाको मानव संशाधन केन्द्रले ६ हजार ७ सय श्रमिकको मात्र दर्ता गर्ने जानकारी गराएको छ । एचआरडीले औद्योगिक क्षेत्रका लागि ४ हजार ७ सय र कृषिमा २ हजार जनालाई सीप परीक्षण सहभागि गराउन शाखालाई जानकारी गराएको शाखाले जनाएको छ ।

