आजबाट बढ्यो इन्टरनेटको मूल्य, नेपाल टेलिकमले यथावत राख्ने

Share:

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले आजबाट इन्टरनेटको मूल्य वृद्धि गरेका छन् । सरकारले इन्टरनेट सेवा प्रदायकहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन आइस्पानको निर्णयअनुसार मुलुकभरका सेवा प्रदायकहरुले १३ प्रतिशत मूल्य वृद्धि गरेका हुन् ।

सरकारले वृद्धि गरेको १३ प्रतिशत शुल्क उपभोक्ताबाटै उठाउने निर्णय आइस्पानले गरेको हो । संसद्ले पारित गरेको आर्थिक ऐनमा इन्टरनेट सेवा प्रदायकले उपभोक्ताबाट दूरसञ्चार सेवा शुल्कबापत १३ प्रतिशत रकम संकलन गरी भ्याटसँगै तिर्नुपर्ने व्यवस्था छ । यो वर्षको बजेटमा पनि सरकारले यही प्रावधानलाई अघि बढाएको छ ।

गत वर्षदेखि नै सरकारले इन्टरनेट सेवा प्रदायकबाट १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लिने निर्णय गरेको थियो । व्यवसायीको तीव्र विरोधपछि सरकारले व्यवसायीसँग मूल्य नबढाउन सम्झौता गरेको थियो । तर, सरकारले सम्झौता पालना नगरेको भन्दै व्यवसायीले मूल्यवृद्धि गरेका हुन् ।

नेपाल टेलिकमले यथावत राख्ने

अरु कम्पनीहरुले इन्टरनेटको मूल्य बढाउँदा सरकारी सञ्चार सेवा प्रदायक नेपाल टेलिकमले भने यथावत राख्ने भएको छ। नेपाल टेलिकमले भने इन्टरनेटको शुल्कमा कुनै वृद्धि नगरिने जनाएको हो।

’नेपाल सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत सेवा शुल्क लगाउने निर्णय गरिसकेको अवस्थामा पनि नेपाल टेलिकमले ग्राहकको सुविधा र सहजतालाई ध्यानमा राखी कम्पनीद्वारा प्रदत्त इन्टरनेट सेवाको महसुल दरमा कुनै वृद्धि गरेको छैन’, बुधबार प्रकाशित एक सूचनामा भनिएको छ।

’सेवाग्राहीलाई अझ बढी सहुलियत दरमा सेवा उपलब्ध गराउन हालै कार्यान्वयनमा ल्याइएको समर अफरमा इन्टरनेट लगायतका सेवाहरुमा थप सहुलियतसहितका प्याकेजहरु प्रस्तुत गरी सेवालाई अझ कम खर्चिलो बनाइएको छ’, टेलिकमले भनेको छ।

नेपाल टेलिकमले देशका सुगमदेखि दुर्गम हरेक स्थानमा सहुलियत दरमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्रदान गर्ने आफ्नो नीतिलाई निरन्तरता दिइरहेको छ।

कमेन्ट गर्नुहोस्
Share: