पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीका छनोट प्रमुख इन्जमाम उल हकले दिए राजीनामा

Share:

एजेन्सी– पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीका छनोट प्रमुख इन्जमाम उल हकले सम्झौता नविकरण नगर्ने भएका छन्। पाकिस्तानका पूर्व कप्तानसमेत रहेका इन्जमामले एकदिवसीय विश्वकप क्रिकेटमा टोलीको नतिजापछि आफू छनोट प्रमुखका रुपमा थप समय रहने मनस्थितीमा नरहेको बताएका छन्।

लाहोरस्थित गद्याफी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै इन्जमामले आफ्नो तीन वर्षे कार्यकाल स्मरणीय रहेको पनि उल्लेख गरे। सन् २०१६ मा छनोट प्रमुखका रुपमा जिम्मेवारी सम्हालेका इन्जमामकै सक्रियतामा पाकिस्तानी क्रिकेटले केही ठूला सफलता हात पार्‍यो।

सन् २०१७ को च्याम्पियन्स ट्रफी भारतलाई फाइनलमा हराएर जित्यो। त्यसकाे ६ महिनापछि न्यूजिल्याण्ड विरुद्धको तीन खेलको टी–ट्वेन्टी क्रिकेट श्रृख‌ंला जितेको पाकिस्तान टी–ट्वेन्टी वरियतामा शीर्ष स्थानमा उक्लियो। पाकिस्तान अहिले पनि टी–ट्वेन्टी वरियताको शीर्ष स्थानमा छ।

केही आशलाग्दा खेलाडीको समेत पाकिस्तान टोलीमा उदय भएको छ। फाखर जमान, हसन अली, सदाब खान, इमाम उल हक, साहिन अफ्रिदीजस्ता होनाहार खेलाडी इन्जमामले जिम्मेवारी सम्हालेपछि पाकिस्तानी टोलीमा भित्रिएका हुन्। खेलाडी जीवनको अन्तिम समयतिर रहेका धेरै खेलाडीहरु इन्जमामको आगमनपछि पाकिस्तान टोलीबाट बहिर्गमनमा परेका थिए। केहीले सन्याश पनि घोषणा गरे।

उनले सन् २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन्। आफ्नै भतिज इमाम उल हकलाई टोलीमा समावेश गरेको भन्दै इन्जमाम आलोचित भएका थिए। तर इमामले इन्जमामसँगको नाताकै आधारमा मात्र टोलीमा नपरेको पुष्टी गर्दै श्रीलंकाविरुद्ध डेब्यु एकदिवसीयमै शतक प्रहार गरेका थिए। उनी लगातार पाकिस्तानको प्रारम्भिक ब्याट्सम्यानका रुपमा आफूलाई स्थापित गरिरहेका छन्।

इङ्ल्यान्ड र वेल्समा हालसालै सम्पन्न १२ औँ एकदिवशीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डसँग नेट रनरेटमा पछाडि रहँदा पाकिस्तान सेमिफाइनल पुग्न असफल भएको थियो।

तर उसले फाइनल पुगेका दुवै टोली न्युजिल्याण्ड र इङ्ल्याण्डलाई सेमिफाइनलमा हराएको थियो। भारत, वेस्ट इन्डिज र अस्ट्रेलियासँग नमिठो हार ब्यहोरेको पाकिस्तानले लिग चरणका पछिल्ला खेलहरुमा सफलता हात पारेको थियो।

कमेन्ट गर्नुहोस्
Share: