
काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको जीवनीमा आधारित फिल्म ‘डा. सीके राउत’ निर्माण हुने भएको छ ।चलचित्र निर्माणको घोषणासँगै निर्माण टिमले टिजर पनि सार्वजनिक गरेको छ । चलचित्रमा सिके राउतको भूमिका भोजपुरी चलचित्रमा अभिनय गर्दै आएका अभिनेता परदेशी शाहले निर्वाह गर्ने भएका छन् ।
यो फिल्म ५० प्रतिशत सीके राउतको जीवनीमा आधारित हुनेछ भने ५० प्रतिशत काल्पनिक हुने निर्माण टिमले जनाएको छ । बुधबार राजधानीको ‘क्युज सिनेमा’मा आयोजित कार्यक्रममा फिल्मबारे जानकारी दिइएकाे थियाे ।
कार्यक्रममा सीके राउत पनि उपस्थित थिए । उनले यो फिल्मले दर्शकले आफ्नो बारेमा बुझ्न भूमिका खेल्ने प्रतिक्रिया दिए ।
यस्तै चलचित्रमा परदेशीका अलावा धुर्ब कोइराला,पुकार भट्टराई,बिशाल पहाडी, किरण थापा लगाएतका कलाकारको मुख्य अभिनय रहने जनाइएको छ । फिल्मलाई सन्तोष साहले निर्देशन गर्नेछन । फिल्मलाई पवन गौतमले छायांकन गर्नेछन् भने रेवन्त बिक्रम थापाको द्वन्द निर्देशन रहने छ । चलचित्रमा रामजी लामिछाने र लिगेश भट्टराईको कोरियोग्राफी रहनेछ।
यो चलचित्र नेपाली, भोजपुरी र हिन्दी भाषामा निर्माण हुने र अङ्ग्रेजी उपशीर्षक समेत राखिने जनाइएको छ । झण्डै डेढ करोडको लागतमा फिल्म बन्ने आयोजकले जनाएको छ ।
