
अनुप पौडेल,पोखरा ।
पोखराको लेकसाइडमा मदिरा सेवन गरेर गाडी चलाउँदा गएको असार ११ गते भयानक दुर्घटना भयो । सो दुर्घटनामा भारतीय गाडीले एकैपटक तीनवटा मोटरसाइकललाई ठक्कर दियो । मोटरसाइकललाई ठक्कर दिएपछि गाडीले फेरि ट्याक्सी र स्कुटरलाई पनि छाडेन ।
दिल्लीबाट पोखरा घुम्न आएका अजय बरालले मदिरा सेवन गरेर गाडी चलाउँदा भएको सो घटनामा पाँच जना घाइते भए । अर्घखाँची घर भइ भारत बस्दै आएका ठक्कर दिने बराललाई भने कारबाही प्रक्रिया अगाडि बढाउने तयारी भैरहेको कास्की प्रहरीले जनाएकाे छ ।
चालकको लापरबाहीले हुने दुर्घटनाको यो एउटा प्रतिनिधि घटना मात्र हो । पोखरामा मात्रै होइन देशभर यस्ता दुर्घटना धेरै हुने गरेका छन् । चालकको लापरबाहीसँगै खाल्डो परेका सडक, सवारीको चाप बढेपनि ट्राफिक लाइट नहुनु पोखरा क्षेत्रमा सडक दुर्घटनाका मुख्य कारण हुन् ।
यसबाहेक केहि घटनामा पैदलयात्रु पनि दोषी छन् । जथाभावी बाटो काट्नु, जेब्राक्रसको प्रयोग नगर्नाले पनि दुर्घटना हुने गर्छन। यस्तै कारणले गर्दा कास्कीमा सडक दुर्घटनाका घटना बढिरहेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीको तथ्यांकले पनि जिल्लाभर सडक दुर्घटना बढेको देखाउँछ। जिल्लाभर गएको आर्थिक वर्ष २०७५/७६ मा ८२ दुर्घटना भएका छन् । ती दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ ।
आर्थिक वर्ष २०७४/७५ मा ६९ दुर्घटना भएका थिए । जसमा ४७ जनाको मृत्यु भएको थियो । प्रहरीको यो तथ्यांकले ज्यान गुमाउनेको सङख्या घटेपनि सवारी दुर्घटना भने बढेको प्रष्ट हुन्छ ।
झण्डै तीन हजार सवारीमा विल लक
ट्राफिक प्रहरीले गएको आर्थिक वर्ष २०७५/७६ मा झण्डै तीन हजार सवारीमा विल तथा चेन लक लगाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीका सूचना अधिकारी जितजंग कार्कीका अनुसार एक वर्षे अवधिमा २ हजार ९ सय ६५ सवारीमा विल तथा चेन लक लगाइएको हो ।
सडकमा लामो समयसम्म पार्किङ गरेर राखिएका सवारी नहटाए विल तथा चेन लक लगाउने गरिन्छ । यस्तो कारबाहीमा मोटरसाइकल धेरै पर्छन् । पार्किङ गर्ने ठाउँ नहुँदा अहिले पोखराका मुख्य चोकमा धेरैले निषेधित क्षेत्रमा पनि पार्किङ गर्ने गरेको पाइन्छ ।
दुई पाङ्ग्रे सवारी चोरीको समस्या बढ्दै
कास्कीमा दुई पाङ्ग्रे सवारी चोरीको घटना पनि दिनानुदिन बढदै गएको छ। आर्थिक वर्ष २०७४/७५ को तुलनामा गएको वर्ष चोरीका घट्ना बढेका छन् ।
प्रहरीको तथ्यांक अनुसार गएको आर्थिक वर्ष २०७५/७६ मा ७६ वटा दुई पाङ्ग्रे सवारी हराए । तर, हराएका मध्ये सातवटा मात्र भेटिए । आर्थिक वर्ष २०७४/७५ मा ५१ वटा दुई पाङ्ग्रे सवारी हराएका थिए । त्यसमध्ये चार वटा मात्र भेटियो ।
दुई पाङ्ग्रे सवारी हराएपछि पाउन भने मुस्किल हुने ट्राफिक प्रहरी बताउँछन्। एउटै मोडलका थुप्रै बाइक र स्कुटर हुने भएकाले हराएपछि अधिकांश सवारी पाइँदैन ।
राजस्व संकलन पनि बढ्यो
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुुुसार गएको आर्थिक वर्षमा राजस्व संकलन पनि बढेको छ । गएको आर्थिक वर्ष २०७५/७६ मा सवारी कारबाहीबाट रु चार करोड ४७ लाख ३७ हजार पाँच सय राजस्व संकलन भएको छ ।
नियम विपरित चलाइएका ६४ हजार दुई सय सवारीबाट यो राजस्व संकलन गरिएको हो । आर्थिक वर्ष २०७४/७५ मा ५१ हजार पाँच सय एक सवारी कारबाहीमा परेका थिए । त्यसबाट रु तीन करोड ६५ लाख ५१ हजार पाँच सय राजस्व संकलन भएको थियो ।
जथाभावी पार्किङ गर्ने, मापसे गरेर सवारी चलाउने सवारी कारबाहीमा परेका हुन्।
File Photo

