
काठमाण्डौ । सरकार र नेकपाबीच बार्ताको अनौपचारिक प्रयासहरु भइरहेका बेला प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाइ पक्राउ गरेको छ । लामालाई काठमाण्डाैंको जडिबुटी क्षेत्रबाट शनिबार राति १२ बजे पक्राउ गरिएको हो ।
प्रहरीले लामासँगै विप्लव नेतृत्वको नेकपाका अर्का कार्यकर्ता रेशम तामाङलाई पनि हिरासतमा लिएको छ । ललितपुरको नख्खु तथा काठमाण्डौंका विभिन्न ठाउँमा भएका बम विष्फोट लगायतका घटनामा लामाको संलग्नता रहेको जानकारी प्राप्त भएको र अरु पनि विभिन्न घटनामा संलग्नता रहेको हुनसक्ने भएकाले थप अनुसन्धान अघि बढाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
काठमाडौं सीतापाइलामा बस्दै आएका लामा विप्लव समूहको एक प्रभावशाली नेता हुन् । २०६४ सालको पहिलो संविधानसभा काठमाडौंबाट चुनाव लडे पनि पराजित भएका थिए ।
लामा तत्कालीन माओवादीको जनसाँस्कृतिक महासंघको अध्यक्षसमेत थिए । तर, पार्टी बिभाजनपछि मोहन वैद्य हुँदै उनी विप्लव समूहमा लागेका थिए । पछिल्लो समय लामाले विप्लवले लेखेको ‘कसले बनायो दाजै उडिजाने बस’ बोलको गीतमा संगित भरेका छन् ।
