
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सहकारी शेयर सदस्यलाई लाभाम्स बाढ्ने मात्र नभई मुलुकको समृद्धिको आधार बन्नुपर्ने बताएका छन् । पोखरा १७ आँखा अस्पतालचोकस्थित घारीपाटन वचत तथा ऋण सहकारी संस्थाको कार्यालय तथा प्रारम्भिक साधारण सभाको शनिबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
पैसा खरिद विक्री गर्नु भन्दा पनि सुलभ पसल सञ्चालन गरेर उपभोक्तालाई सस्तोमा स्वस्थ वस्तु उपलव्ध गराउँदै त्यसबाट भएको आम्दानीबाट शेयर सदस्यलाई मुनाफा वितरण गर्नुपर्ने बताउँदै सहकारी ऐन, नीति तथा सिद्धान्तलाई कडाईका साथ लागू गरिने जानकारी दिए ।
महानगर सहकारी व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण अधिकारीले सहकारी संस्थाहरुलाई कार्यविधि, निर्देशिका एवम् मापदण्ड तयार गरेर व्यवस्थित गर्ने तयारी भई रहेको बताए । नयाँ दर्ता भन्दा पनि मर्चको अवधारणालाई महानगरले प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले पोखरा वडा नं. १६ र १९ मा बिभिन्न पाँच वटा सहकारी मर्च भई सकेको जानकारी दिए ।
महानगरमा पुराना ३१४ र नयाँ दर्ता २८ गरि कूल तीन सय ४२ वटा सहकारी सञ्चालनमा रहेको बताउँदै उनले प्रधानमन्त्री स्वरोजगार, कृषिमैत्री मेयर कार्यक्रम, उपमेयरसँग महिला जस्ता आर्थिक एवम् सामाजिक कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।
संस्थाका अध्यक्ष गोकर्ण क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा १७ का वडाअध्यक्ष तिर्थ अधिकारी, कार्यपालिका सदस्य राधिका योगी, छिमेकी सहकारीका अध्यक्षहरु हरिप्रसाद बास्तोला, रविन्द्र श्रेष्ठ र ढाकाराम ढकाल, तोयनाथ लम्साल, उपाध्यक्ष कृष्णकला केसी, सहसचिव लिलबहादुर जिसी, सदस्य प्यारी गुरुङ लगायतले सहकारीको काम कर्तव्य र अधिकार माथि चर्चा गरेका थिए ।
