मुलुकमा सामन्तवादी अवशेषको अन्त्य हुँदैछः मुख्यमन्त्री गुरुङ

Share:

पोखरा । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक सामन्तवाद अवशेषको अन्त्य गर्ने चरणमा पुगेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ४१औँ स्मृति दिवसको अवसरमा पोखरा–७ मासवारस्थित पुष्पलालको सालिकमा माल्यार्पण गर्दै उनले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्तित्व पुष्पलालको विचारको जगमा देश वर्तमान अवस्थासम्म आइपुगेको बताए ।

नेपाली कम्युनिष्ट आन्दोलनले सफलता प्राप्त गर्दै राष्ट्रकै नेतृत्व गरिरहेको उल्लेख गर्दै उनले समाजवादोन्मुख हाम्रो देशलाई विकास र समृद्धिको मार्गमा लैजाने गहन जिम्मेवारीलाई वहन गर्नु वर्तमानको आवश्यकता रहेको औँल्याए ।

नेपाल कम्युनिष्ट पार्टीलाई नेपाली जनताले विश्वास गरेर वर्तमान अवस्थामा पुर्याएको बताउँदै मुख्यमन्त्री गुरुङले अब देश र जनतालाई योगदान दिन सकेमा नै पुष्पलालप्रति सच्चा श्रद्धाञ्जलि हुने उल्लेख गरे ।

पार्टीको गण्डकी प्रदेश इन्चार्जसमेत रहेका गुरुङले समाजवादमा आधारित भएर उत्पादनमा लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिए । रासस

File photo

कमेन्ट गर्नुहोस्
Share: