
एजेन्सी– आगामी अगस्ट ३ बाट सुरु हुने भारतसँगको टी–२० श्रृङखलाका लागि वेष्ट इण्डिजले १५ सदस्यीय क्रिकेट टोलीको घोषणा भएको छ।
कार्लोस वार्थवेटलाई कप्तानको जिम्मेवारी दिइएको टोलीमा अनुभवि खेलाडी कायरन पोलार्ड र सुनिल नारिनलाई पनि समावेश गरिएको छ।
सुनिलले २२ महिनापछि टि–२० टोलीमा स्थान बनाएका हुन्। २०१७ सेप्टेम्बर १६ मा इंग्ल्याण्डविरुद्धको खेलपछि उनी राष्ट्रिय टोलीमा समावेश भएका थिएनन्।
टोलीमा विकेटकीपर ब्याट्सम्यान एन्थोनी ब्राम्बलले पहिलो पटक स्थान बनाएका छन्।
वेष्ट इण्डिजका स्टार व्याट्सम्यान क्रिस गेललाई टोलीमा समावेश गरिएको छैन। खेलाडी छनौट समितिका अध्यक्ष राेवर्ट हेन्सले क्रिस गेलले पहिले नै आफ्नो नाम फिर्ता लिएका बताएका छन्। गेलको स्थानमा जोन क्याम्पबेललाई टोलीमा समावेश गरिएको छ।
हालै सम्पन्न १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा चोटका कारण बाहिरीएका आन्द्रे रसेललाई टोलीमा राखिएको छ।
टोलीमा कार्लोस वार्थवेट (कप्तान), सुनिल नारिन, किमो पउल, खेरी पायर, कायरन पोलार्ड, निकोलस पुरन, रोभमेन पावेल, आन्द्रे रसेल, ओशन थोमस, एन्थोनी ब्राम्बल, जोन क्याम्पबेल, शेल्डन कटरेल, शिमरन हेटमेयर र एविन लेविस रहेका छन्।
तीनवटा टी –२० क्रिकेट श्रृङ्खलाको सुरुका दुई खेल अमेरिकाको फ्लोरिडामा अगामी अगस्ट ३ र ४ मा हुनेछन् भने तेस्रो खेल वेष्ट इण्डिजको गुयनामा हुनेछ।
वेष्ट इण्डिज क्रिकेट बोर्डका अनुसार तेस्राे खेलका लागि १५ सदस्यीय टोलीमा हेरफेर हुन सक्नेछ।
