
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले पहिलो पटक वडाबाटै अपाङ्गता परिचयपत्र वितरणको थालनी गरेको छ ।
नगरपालिकाले प्रत्येक वडामा पुगेर अपाङ्गता परिचयपत्र वितरण गरिरहेको छ । नगरपालिकाको वडा नम्बर ३, ११ र १२ का १२६ जनालाई परिचयपत्र वितरण गरिसकेको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि–२०७५ बमोजिम गठित स्थानीय समन्वय समितिको निर्णयअनुसार नगरमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण शुरू गरिएको उपप्रमुख सविता रसाइलीले जानकारी दिईन्।
कार्यविधिअनुसार यसअघि परिचयपत्र लिइसकेका व्यक्तिहरूले पनि आगामी एक वर्षभित्र कार्यविधिअनुसार परिचयपत्र लिनुपर्ने उल्लेख छ । परिचयपत्र वितरणका लागि गत जेठ ८ र ९ गते शारीरिक अवस्था जाँच गरिएको थियो ।
सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई क, ख, ग र घ गरी ४ समूहमा विभाजन गरेको छ । कूल ४६० को निवेदन परेकामा नगरपालिका अपाङ्गता समन्वय समितिले ३४१ जनालाई परिचयपत्र वितरण गर्ने भएको छ ।
