
अनुप पौडेल । मोफसलकै प्रतिष्ठित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको १७ औं संस्करणबाट झन्डै साढे एक लाख रुपैयाँ बचत भएको छ ।
गएको फागुन ९ गते देखि १८ गतेसम्म पोखरा रंगशालामा भएको प्रतियोगिताबाट एक लाख ४९ हजार ३ सय २६ रुपयाँ बचत भएको शनिबार आयोजित आयव्यय सार्वजनिक कार्यक्रममा जानकारी दिइएको हो ।
प्रतियोगिताबाट ७० लाख ७८ हजार ७ सय ८६ रुपयाँ आम्दानी भएको आयोजक सहारा क्लब पोखराले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न ६९ लाख २९ हजार ४ सय ६० रुपयाँ खर्च लागेको क्लबका कोषाध्यक्ष एवं अर्थ समिति सह-संयोजक राजु लालचनले जानकारी दिए । अर्थ समिति सह-संयोजक लालचनका अनुसार गेट प्रवेश टिकटबाट १५ लाख ५० हजार २ सय ६५ रुपैयाँ आम्दानी भएको छ ।
व्यानर एवं आर्थिक सहयोगबाट १८ लाख ५५ हजार ४ सय ५० रुपैयाँ, मुख्य प्रायोजक आहा तथा रारा चाउचाउबाट १३ लाख ५१ हजार, राष्ट्रिय खेलकुद परिषद (राखेप) र गोर्खा ब्रुअरीबाट ४/४ लाख, हिमअस एजुकेशनबाट ४ लाख १ हजार आम्दानी भएको खर्च विवरणले देखाउँछ ।
यस्तै पाँच विधा प्रायोजक पृथ्वी राजमार्ग बस संचालक समितिबाट १ लाख ५० हजार, पोखरा महानगरबाट १ लाख लगायतका प्रायोजकबाट गरी सो रकम आम्दानी भएको हो ।
प्रचार प्रसार, स्टेशनरी तथा छपाई, रेफ्री खर्च, यातायात तथा स्थानीय परिवहन, खेलाडी दैनिक भ्रमण खर्च, मंञ्च व्यवस्थापन लगायतका शीर्षकमा खर्च गरिएको छ ।
तर, १६ औं संस्करणको तुलनामा गएको संस्करणको बचत ९४ प्रतिशत कम हो । १६ औं संस्करणमा २३ लाख ७६ हजार ९७ रुपैयाँ बचत भएको थियो ।
१६ औं संस्करणको तुलनामा गएको संस्करणमा २२ लाख रुपयाँ बचत कम भएको हो। १७ औं संस्करणको प्रतियोगिताको उपाधि रुस्लान थ्री स्टार क्लबले जितेको थियो ।
प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, हिमालयन शेर्पा क्लब, धरान फुटबल क्लब, नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल (एपिएफ), विदेशी टिम डफिन्स फेमिली क्यामरुन, युनाइटेड सिक्किम भारत र आयोजक गरी १० टिम सहभागी थिए ।
किन घट्यो आम्दानी ?
सहारा क्लबले आयोजना गर्दै आएको प्रतियोगिताको छुट्टै माहोल छ । हरेक वर्ष क्लबले थोरैमा २० लाख भन्दा बढी बचत गर्थ्यो । १४ औं संस्करणमा बचतको रेकर्ड बनेको थियो । त्यसबेला ३५ लाख २ हजार रुपैयाँ बचत भएको थियो ।
त्यसपछि १५ औं संस्करणमा २७ लाख ७८ हजार बचेको थियो । १६ औं संस्करणमा २३ लाख ७६ हजार बच्यो । तर, १७ औं संस्करणमा साढे १ लाख मात्र बचत भयो ।
यसरी प्रतियोगिताको आम्दानी घट्नुको मुख्य कारण प्रतियोगिता गर्ने वा नगर्ने भन्ने अन्योलता रहेको सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले बताए।
भौतिक संरचनाले पनि साथ नदिएका बेला प्रतियोगिताको आयोजना हुनाले यसपटक बचत रकम काम भएको उनको भनाइ छ । उनका अनुसार विभिन्न माध्यमबाट प्राप्त हुने आम्दानी घटेकाले पनि यस वर्ष बचत घटेको हो ।
रंगशाला निर्माण सकिएपछि प्रतियोगिताले पहिलेको जस्तै माहोल बनाउने अध्यक्ष थापाको विश्वास छ । तर, सहाराको आहा ! रारा गोल्ड कप र एन्फा कास्कीको मनकामना पोखरा कप एकै समयमा हुनाले पनि यसमा प्रभाव परेको कास्की जिल्ला फुटबल संघका पूर्व सचिव सुदर्शन रंजितको बुझाई छ ।
अक्षयकोषबाट एकेडेमी चलाइने
नाफा रकम क्लबले संचालन गरेको सहारा एकेडेमीको खर्च गर्ने गरिन्छ । एकेडेमी संचालन गर्न बार्षिक करिब २० देखि २२ लाख खर्च हुने गर्दछ ।
हरेक वर्ष प्रतियोगितबाटै एकेडेमीमा हुने खर्च पुग्थ्यो । तर यो वर्ष आम्दानी कम भएपछि एकेडेमीको निरन्तरताका लागि स्थापना गरिएको अक्षयकोषको रकम प्रयोग गरिने भएको छ ।
विभिन्न व्यक्ती र संघसंस्थाबाट सहयोग स्वरुप प्राप्त रकम अक्षयकोषमा छ । सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले अहिले अक्षयकोषमा १ करोड २० लाख रहेको जानकारी दिए ।
अक्षयकोषलाई २ करोड बढी पुर्याउने लक्ष्य क्लबको रहेको छ । हाल एकेडमीमा २४ जना बालक रहेका छन् ।
