
पोखरा। मङ्सिर सम्म पोखराका ४ वटा मुख्य चोकमा ट्राफिक लाइट जडान गरिने भएको छ । मङ्सिरमा हुने १३ औ दक्षिण एसियाली खेलकुद (साग) लाई मध्यनजर गर्दै ट्राफिक लाइट जडान गरिने पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले बताएका हुन् ।
सोमबार पोखरामा आयोजित ट्राफिक कोण हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख जिसीले सागका बेला महानगरपालिकाको यातायात व्यवस्थापन गर्न विस्तृत योजना बनाइरहेको बताए ।
प्रमुख जिसीले कार्यक्रममा भने, ‘आगामी मंसिर भित्रमा पोखराको पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक जस्ता मुख्य ४ वटा चोकमा ट्राफिक लाइट जडान गर्ने योजना बनाइरहेकाछौं।’
उनले सिर्जनाचोकमा आकाशे पुल र महानगरका मुख्य ठाउँहरुमा सिसिटिभी जडान गर्ने योजना समेत बनिरहेको जानकारी दिए । प्रमुख जिसीले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण रहेपनि महानगरले त्यसको सुधार गर्न तत्पर रहेको बताए ।
उनले भने ‘पोखराका ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण रहेको छ तर हामी यसलाई सुधार गर्न हरपल तत्पर छौं ।’
मेयर जिसी र गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद शर्मा घिमिरेले जिल्ला ट्राफिक कार्यालय कास्कीलाई ४ सय ९६ थान ट्राफिक कोण हस्तान्तरण गरेका थिए । महानगरपालिकाको तर्फबाट दिइएको ट्राफिक कोणले ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
तस्बिर- सुदर्शन रञ्जित
यो पनि : भदौबाट पोखराका सार्वजनिक बसमा ‘ई–टिकटिङ’, सिस्टममा नजानेलाई कारबाही
