
पोखरा । अन्तराष्ट्रिय स्तरको नेपाल मेडसिटी हस्पिटल र पोखरा-२६ बुढिबजार चोकमा रहेको लेखनाथ सिटी हस्पिटल बीच सम्झौता भएको छ । सम्भौतामा नेपाल मेडसिटी हस्पिटलका तर्फबाट महाप्रबन्धक बिजय रिमाल र लेखनाथ सिटी हस्पिटलका तर्फबाट हस्पिटल निर्देशक सुजन रानाभाटले हस्ताक्षर गरेका हुन् ।
पोखरा आसपासका बिरामीहरुलाई अझै उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्नको लागि नेपालकै ठुलो र उत्कृष्ठ हस्पिटलसँग समन्वय गरेको निर्देशक उदीपराज ढुंगानाले बताए । सम्झौता अनुसार लेखनाथ सिटी हस्पिटलले ७५० शैया सहित सम्पूर्ण स्वास्थ्य सेवाहरु उपलब्ध गराउँदै आएको मेडसिटी हस्पिटलको प्राविधिक तथा अन्य सम्पुर्ण सहयोग प्राप्त गर्नेछ ।
साथै हरेक महिना नेपाल मेडसिटीका सुपर स्पेशलिस्ट डाक्टरहरुले लेखनाथ सिटी हस्पिटलमा आएर बिरामीहरु चेकजाँच गर्नेछन् । बिभिन्न क्याम्पहरुमा पनि मेडसिटी हस्पिटलका डाक्टर, प्राबिधिक र अन्य आबश्यक टिमले लेखनाथ सिटी हस्पिटलमै आएर बिरामीहरुको सेवा गर्नेछन् । अत्यन्तै जटिल मानिने हिप तथा घुँडाको अपरेशनहरुपनि लेखनाथ सिटी हस्पिटलमा अब सम्भब हुने भएको छ ।
लेखनाथ सिटी हस्पिटलका निर्देशक संजय कार्कीले भने, ‘मेडसिटी हस्पिटलको समन्वयमा लेखनाथ सिटी हस्पिटलबाट हेलिकप्टर रेस्क्युको समेत व्यवस्था गरिएको छ । यो व्यवस्थाले गण्डकी क्षेत्रका बिरामीहरुलाई प्रत्यक्ष लाभ मिल्ने छ ।’ मेडसिटी हस्पिटलका महाप्रबन्धक बिजय रिमालले आफूहरुको सहकार्यले गण्डकी प्रदेशका बिरामीहरुलाई स्वास्थ्य सेवामा अझ पहुँच बढ्ने बिश्वास ब्यक्त गरे ।
अब बिरामीले नेपाल मेडसिटी हस्पिटलमा डाक्टरको टिकट तथा अन्य सुबिधाका लागि सिधै लेखनाथ सिटी हस्पिटलबाट नै बुकिङ गर्ने सक्नेछन् । हाल लेखनाथ सिटी हस्पिटलमा डा. बिद्याभुषण ताम्रकारको नेतृत्वमा हाडजोर्नी तथा बाथ हरेक दिन १२ घण्टा, ईर्मजेन्सी मेडिसिन तथा जनरल प्राक्टीस डा. अमित तुलाचनको नेतृत्वमा २४ सैं घण्टा आकस्मीक सुबिधा र अन्य सम्पुर्ण बिशेषज्ञ सेवाहरुसहित संचालित रहेको छ ।
