
पाेखरा । राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको काम ४५ प्रतिशत सकिएको छ । बुधबार आफ्नै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सो जानकारी दिएका हुन् ।
उनले विमानस्थलको काम २०२१ जुनमा सक्ने गरि काम गराउने प्रतिबद्धता जनाए । विमानस्थलको निर्माण कार्य सन्तोषजनक रहेको उनको भनाइ छ । उनले गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको काम ७३ प्रतिशत सकिएको बताए ।
मन्त्री भट्टराईले आफू विध्वंश गर्न आएको नभई विश्वकै सानदार विमानस्थल बनाउन आएको बताए । उनले बहुचर्चित बाराको निजगढ विमानस्थलको विकल्प खोज्ने पक्षमा आफू नरहेको बताए ।
मन्त्री भट्टराईले विमानस्थल निर्माणका क्रममा समस्याका रुपमा देखिएको सुकुम्बासी बस्ती व्यवस्थापनका लागि आफूले स्थानीय सरकारसँग समेत कुराकनी गरेर निश्कर्षमा पुग्ने जानकारी दिए । उनले आफू मन्त्री बनेको एक हप्तामा यहाँको अवस्था बुझेको र अब कामको योजना बनाउँदै जाने सुनाए।
