
काठमाडौं । नेपाली राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछाने रहेको टोरन्टो नेसनल्स र सोमपाल कामी रहेको वेनिपेग होक्स क्यानडामा जारी ग्लोबल टी–ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेका छन् ।
बुधबार राति भएको दोस्रो चरणको अन्तिम खेलमा मोन्टरियल टाइगर्सलाई ३५ रनले पराजित गर्दै टोरन्टो प्ले अफमा पुगेको हो । यस्तै टोरन्टो विजयी भएपछि सोमपालकाे टाेली वेनिपेग होक्स पनि प्ले अफमा पुगेको छ ।
सिएए क्रिकेट मैदानमा टोरन्टोले दिएको १९० रनको लक्ष्य पछ्याएको मोन्टरियलले १९ ओभर ३ बलमा अलआउट हुँदै १५४ रन मात्र बनाउन सक्यो ।
मोन्टरियललाई सस्तैमा रोक्न टोरन्टोका मिचेल मेग्क्लेनघन र कृष ग्रीनले ३/३ विकेट लिए । यस्तै जेरोमी गार्डोनले २ विकेट लिँदा सन्दीपले ३ ओभरमा २५ रन खर्चेर १ विकेट लिए ।
जितसँगै टोरन्टो लिगको तेस्रो स्थानमा रहदै प्ले अफ पुगेको हो । टोरन्टोले ६ खेलमा ६ अंक जोड्यो । ६ खेलमा ५ अंक जोडेको मोन्टरियल बाहिरिएको छ ।
