भाेलीदेखि मुक्तिनाथ प्रवेशद्धार रानीपाैवामा यार्तुङ महोत्सव

Share:

पोखरा । हिमालपारीको जिल्ला मुस्ताङकाे प्रसिद्ध तीर्थस्थल मुक्तिनाथकाे प्रवेशद्धार रानीपाैवामा सोमबार (भाेली) बाट मुक्तिनाथ यार्तुङ महोत्सव सुरू हुने भएकाे छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र जनप्रिय युवा क्लबको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहयोगमा भाेलीदेखि ३० गतेसम्म महोत्सव हुन लागेको हो ।

ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको यातुङ महोत्सवलाई यसपटक बृहत रुपमा सञ्चालन गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले बताए ।

गाउँपालिका भित्रको सांस्कृतिक विविधता प्रर्दशन, गाउँ गाउँ बीचका युवाहरुको सम्वन्ध प्रगाढ बनाउन यार्तुङ महोत्सव लाभदायी हुने विश्वास आयोजकले लिएको छ । धर्मसंस्कृति र परम्परा संरक्षणमा यार्तुङ मेलाले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष गुरुङको भनाई छ ।

याक सवारी, ऐतिहासिक घोडा दौड प्रतियोगिता, परम्परागत मास्क डान्स, सेभेन ए साइड फुटबल प्रतियोगिता महोत्सवको मुख्य आकर्षण रहेका छन् । यस्तै गाउँपालिका भित्रका १९ वटा गाउँको परम्परागत प्रदर्शनका साथै विविध सांस्कृतिक कार्यक्रम पनि हुनेछ ।

महोत्सवमा चर्चित ख्याती प्राप्त कलाकार निम्त्याएर कन्सर्ट र साँस्कृतिक कार्यक्रम गरिने छ । महोत्सवको करिब १० हजार जनाले अवलोकन गर्ने र २ करोड बराबरको कारोबार हुने अनुमान छ ।

कमेन्ट गर्नुहोस्
Share: