(नयाँ जीवन): अक्षरहरुसँग खेल्ने सपनाले स्कुलसम्म ल्यायो

Share:

पोखरा, २६ साउन । ५६ वर्षको उमेरमा पनि गोमा पराजुलीको ईच्छाशक्तिको लेभल गज्जब छ । फरासिलो अनुहार, मिठो हाँसो सँगै प्रस्टसँग बोल्न सक्ने पराजुली अहिले कक्षा ५ मा पढ्छिन् ।

‘यो उमेरमा पनि के पढ्न जाँगर चल्या होला ?’ भन्दै खिसिट्युरी गर्नेहरु नभएका होईनन् । तर उनलाई त्यसको मतलब छैन । आफ्नो ज्ञानको दायरा बढाउन उमेर बाधक हुँदैन भन्नेमा उनी विश्वस्त छिन् । ‘पढेर मैले के नजाति गरेकी छु र ? बरु मलाई यसले धेरै राम्रो भएको छ ।’ गोमा भन्छिन् ।

जानकी माध्यामिक विद्यालय पोखरा १७ मा कक्षा पाँचमा पढ्ने गोमाका सहपाठीहरु उनका नातिनातिनी उमेरका छन् । तर उनी बेप्रवाह स्कुल जान्छिन् । त्यही नातिनातिनी उमेर समूहका बालबालिकासँग मिलेर बस्छिन् । पढ्छिन् र उनीहरुसँगै खेल्छिन् पनि । कक्षा ५ मा उनको रोल नम्बर हो–३ ।

१२ वर्ष अगाडि आफ्नो जीवनसाथी गुमाएकी गोमाका दुई छोराहरु छन् । दुईटै छोराहरु अहिले अमेरिकामा छन् । ‘छोराहरु अमेरिकामा छन् । नाति जन्मिएको बेलामा स्याहारको लागि म पनि गएकी थिएँ । तर अहँ, मलाई त्यहाँ बस्नै मन लागेन । र, नेपाल फर्किएँ । त्यसपछि स्कुल जान थालेँ ।’

उनको पुख्र्यौली थातथलो पोखराकै गैर्हापाटन हो । तर उनलाई त्यहाँ बस्न मन लागेन । घर, घडेरी भाडामा लगाईन् । अनि त्यसपछि स्कुल नजिकै भाडाको फ्ल्याट लिएर बस्न थालिन् । ‘अहिले मलाई आनन्द छ । स्कुल जान आउन पनि सजिलो भएको छ ।’

केही समय अगाडि गोमा कार्यक्रम ‘नयाँ जीवन’को सिलसिलामा बिग एफएम आईपुगेकी थिईन् । कार्यक्रम प्रस्तोता रोजिना थापासँग उनले जीवनका धेरै दुख सुख बाँडिन् । गोमासँग गरिएका अन्तरंग कुराकानीको सम्पादित अंश:

मलाई सानै देखि पढ्ने ईच्छा थियो । तर ऊ बेलामा ‘छोरीले पढ्न हुन्न’ भन्ने मानसिकता हावी थियो । त्यही भएर होला, बुवाआमाले पनि मलाई पढाउनुभएन ।

बिहे पनि सानैमा भयो । १७ वर्षको उमेरमा त म आमा भैसकेकी थिएँ । विवाह भएर श्रीमानको घर गैसकेपछि पढ्ने भन्ने कुराको कल्पना पनि नगरे हुन्थ्यो । त्यसैमाथि बालबच्चा भएपछि पढ्ने समय कहाँबाट निस्कोस् ?

बालबच्चा भएपछि उनीहरुलाई हुर्काउँदैमा दिन बित्यो । ‘आफू नपढेर के भो त ? मेरा छोराहरुलाई त पढाउन सक्छु नी’ भन्ने लाग्थ्यो । उनीहरुलाई पढाएँ पनि । एउटा छोराले त निकै गज्जबको काम पनि ग¥यो । पढाई गर्दागर्दै उसले ‘पुतली जहाज’ निर्माण पनि ग¥यो । म उसको आमा हुँ, उसको सफलतामा खुशी नहुने कुरै भएन । पछि छोरा अमेरिका गयो । कान्छो छोरो पनि अहिले उतै छ । दुबै जना खुशी नै छन् ।

जीवन न हो, अनेक कुराहरु भोग्नुपर्छ । नियतीले दिएको हरेक चोट पीडादायी हुन्छन् । तर ती चोटलाई नखपी जीवन कसरी अगाडि बढोस् ? यस्तै भयो, मेरो जीवनमा पनि । उमेरमै मैले मेरो जीवनसाथी (श्रीमान)लाई गुमाएँ । अब घरको र बालबच्चाको सम्पूर्ण जिम्मेवारी मेरै काँधमा आयो । यो १२ वर्ष अगाडिको कुरा हो । दुख गरेरै भएपनि मैले मेरा छोराहरुलाई बुवाको अभाव महशुस गर्न दिईन । आफ्नो जीवनसाथी (श्रीमान) गुमाउनुको पीडा साँच्चै भयानक हुन्छ एउटा नारीको जीवनमा ।

दैवको अगाडि कसको के लागोस् ? म दैनिक जीवनमा फर्कनै पथ्र्यो । र, फर्किएँ पनि । आत्मबल नै सबैभन्दा ठुलो बल हो भन्ने मलाई लाग्छ । र, त्यही आत्मबलले जीवन सुन्दर तरिकाले जिउन सिकाउँदो रै’छ । उमेर पुगेका सासु ससुरा पनि बित्नुभयो । श्रीमान बिते । अनि छोराहरु दुईटै अमेरिकातिर हान्निए । म अहिले नितान्त एक्लै छु । तर मेरो साथमा आत्मबल छ । हिम्मत छ । त्यसैले त वृद्धा उमेरमा पनि स्कुल जान थालेकी छु ।

पढ्ने ईच्छा र रोकावट

छोराले ब्याच्लर्स पढिरहेको थियो । त्यही बेला मेरो श्रीमान्लाई रोगले च्याप्यो । प्यारालाइसिसको बिरामी श्रीमान घरमा थला परेपछि दुख अझै बढि थपिएको थियो । त्यही बेला हो, म स्कुल जान्छु है ? भनेर छोरासँग सल्लाह गरेँ । तर छोराले ‘बेईज्जत हुन्छ’ भनेर टारिदियो । झन् मेरो आत्मबल टुट्यो । पढ्ने सपना मनमै रह्यो ।

घरमा श्रीमान्को हेरचाह र छोराहरुको लालनपालन गर्दैमा केही वर्ष बिते । त्यसपछि श्रीमान् पनि बित्नुभयो । केही वर्षपछि छोराहरुको बिहे गराईदिएँ ।

विवाह भइसकेपछि उनीहरु अमेरिका गए । त्यसपछि त झन् म एक्लो भएँ । छोराहरुले अमेरिकामै गएर त्यहीँ बस्न नभनेका पनि होईनन्, तर मलाई त्यहाँ बस्नै मन लागेन । ‘उही आफ्ना छोराछोरीलाई स्यहार्न बोलाउन त हुन् नी’ जस्तो लाग्यो ।

र, अर्को मनले भन्यो, ‘अमेरिका नजाने भए तैँले पढ्नुपर्छ । एक्लै विरक्तिएर बस्नुभन्दा स्कुल गएपछि पढ्ने धोको पनि पुरा हुन्छ ।’ मैले मनले भनेको दोस्रो कुरा माने । किनभने मैले छोराहरुलाई एउटा आमा भएर गर्नुपर्ने सम्पूर्ण कर्तब्य पुरा गरिसकेकी थिएँ । उनीहरुको करिअर बनिसकेको थियो ।

अब पढ्ने चाँही कसरी ? भन्ने लाग्यो । स्कुल नै ज्वाइन गर्न अलिक अप्ठेरो लाग्यो । शुरुमा आफ्नै घरमा भाडामा विद्यार्थी राखेर उनीहरुसँगै पढ्छु भन्ने लाग्यो । तर भनेजस्तो कहाँ हुन्थ्यो र ? त्यो आइडियाले अलिक काम गरेन ।

त्यसपछि मैले स्कुल ज्वाइन गर्ने निर्णय गरेँ । हिम्मत जुटाएर स्कुलको प्रधानाध्यापकलाई फोन गरेँ । र, मलाई पढ्न ईच्छा भएको कुरा बताएँ । उहाँ पनि शुरुमा त छक्कै पर्नुभयो । पछि नागरिकताको फोटोकपी ल्याएर आउन भन्नुभयो । र, स्कुलमा भर्ना भए ।

किन किन मनमा यस्तो आँट आयो कि, कसले के भन्ला भन्ने नै लागेन त्यसपछि । म पहिलो दिनमै स्कुलको ड्रेस लगाएर मज्जासँग पढ्न गएँ । पछाडि झोला बोकेर, ड्रेस लगाउँदै स्कुल गईरहँदा मनमा ठुलो खुशी लाग्यो । ‘बल्ल मेरो सपना पुरा भयो’ भनेर म मनमनै नाचेकी थिएँ । अझै मलाई त म आफूलाई बाल्यकालकै छु जस्तो पनि लाग्यो । मन फुरुङ्ग थियो ।

स्कुल बाहिर जसले जे भनेपनि मलाई त्यसको मतलब थिएन । बरु स्कुल गएपछि क्लासमेट बालबालिकाले ‘मिस’ भन्दा चाहीँ म झस्किएँ । म उनीहरुको क्लासमेट भन्ने नै उनीहरुलाई लागेन । ‘मिस’ भनेर म सँग डराउन थाले । त्यसपछि मैले उनीहरुलाई चकलेट दिएर फकाउँन थालेँ । भने–‘म तिमीहरुकै साथी हुँ । तिमीहरुसँग बसेर पढ्न आएकी ।’ भनेपछि उनीहरु बिस्तारै म सँग मिल्न थाले । अहिले यो समस्या छैन ।

म सिधै ३ कक्षामा भर्ना भएकी हुँ । अहिले पुरै २ वर्ष भयो म स्कुल जान थालेको ।

पढेपछिको सपना :

सपनाहरु कहाँ पुरा हुन्छन् र ? एउटा सपना साकार हुनासाथ मनमा अर्को सपनाले जन्म लिईहाल्छ । यही सपनाले त मानिसलाई जिउन सिकाउँछन् । केही गर्ने उत्साह दिन्छन् ।

सपना देख्नेहरुले नै पुरा गर्छन् । मेरो पढ्ने सपना अब साकार भैसकेको छ । र, अब पढाईलाई अझै अगाडि बढाउनुछ । पढाईसँगै मेरो अर्को सपना पनि जोडिएको छ । म अक्षरहरुसँग खेल्न रुचाउने मान्छे । अक्षरहरुसँग खेल्दै आफ्ना भावना लेख्न सक्ने बन्नु र एउटा आफ्नै किताब लेख्नु मेरो सपना हो ।

मलाई मेरो ईच्छाशक्तिले मिहिनेत गर्ने हौसला मिल्छ । उमेरले गर्दा सबै सिक्न गाह्रो त हुँदो रहेछ तर मनको उत्सुकताले त्यसलाई सजिलो गराइदिँदो रहेछ । शिक्षा भनेको जीवनको अभिन्न पाटो रहेछ । शिक्षा बिना मानिसकोे जीवन अधुरो हुने रहेछ । जागिरका लागि शिक्षा आवश्यक छ भन्नेहरुको तर्क पनि आफ्नो ठाऊँमा ठिकै होला, तर म भन्छु–‘जीवन जीउनका लागि शिक्षा आवश्यक छ ।’

प्रस्तुती : अनिश भट्टराई

फोटो : सनम थापामगर

कमेन्ट गर्नुहोस्
Share: